विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाएर आफ्नै पार्टीबाट नयाँ मुख्यमन्त्री बनाउने विषयले नेकपा एमालेभित्र फेरि चर्चा पाएको छ। तर प्रदेश प्रमुखको पद रिक्त रहेकाले मुख्यमन्त्री परिवर्तनको प्रक्रिया अघि बढाउन समस्या भएको नेताहरूले बताएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली र मुख्यमन्त्री कार्कीबीच दशैंअघि भएको छलफलमा तिहारपछि राजीनामा दिने सहमति भएको चर्चा चलेको थियो। सोही सहमतिअनुसार एमालेको राष्ट्रिय भेलाका क्रममा अध्यक्ष ओलीले कार्कीलाई राजीनामा दिन निर्देशन दिएको एमालेका केही नेताहरूको दाबी छ।
एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले मुख्यमन्त्रीलाई राजीनामा दिन भनिएको विषय आफूहरूले पनि सुनेको तर त्यसको आधिकारिक पुष्टि नभएको बताएका छन्।
मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले भने सबै विषय आदेशका आधारमा मात्रै नचल्ने टिप्पणी गरेका छन्। उनले विधि, प्रक्रिया र प्रचलित कानुनअनुसार निर्णय हुनुपर्ने धारणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
यता मुख्यमन्त्री कार्कीले पनि सामाजिक सञ्जालमा ‘फेरि पनि एक पटक !’ भन्दै पार्टी निर्माणमा दृढताका साथ अघि बढ्ने सन्देश दिएका छन्। यसलाई केही एमाले नेताहरूले राजीनामा नदिने संकेतका रूपमा व्याख्या गरेका छन्।
एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राईले भने यसअघि अध्यक्ष ओलीसहितका नेताहरूको उपस्थितिमा कार्कीले राजीनामा दिने प्रतिबद्धता जनाएको दाबी गरेका छन्।
यसअघि पनि भएको थियो मुख्यमन्त्री फेर्ने प्रयास
कोशीमा मुख्यमन्त्री कार्कीलाई हटाएर नयाँ नेतृत्व ल्याउने प्रयास यसअघि पनि भएको थियो। चालु आर्थिक वर्षको बजेट पारित गर्ने क्रममा समेत सरकार परिवर्तनको प्रयास भएको थियो। बजेट संशोधन गर्ने सहमतिपछि उक्त प्रयास रोकिएको थियो।
गत साउनमा पनि एमालेभित्रैबाट मुख्यमन्त्री परिवर्तन गर्ने तयारी भएको थियो। त्यसबेला संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई नयाँ मुख्यमन्त्री बनाउने चर्चा चलेको थियो। उनलाई मुख्यमन्त्री बनाउने विषयमा हस्ताक्षर अभियानसमेत चलेको थियो।
तर संविधानको धारा १६८ (५) अनुसार आफू मुख्यमन्त्री बनेको भन्दै कार्कीले राजीनामा दिन अस्वीकार गरेका थिए। पछि अध्यक्ष ओलीसँगको छलफलमा दशैं र तिहारपछि सहज रूपमा राजीनामा दिने प्रतिबद्धता जनाएको एमालेका केही सांसदहरूको भनाइ छ।
प्रदेश प्रमुख नहुँदा राजीनामा प्रक्रिया अन्योलमा
मुख्यमन्त्री परिवर्तनको चर्चा चलिरहे पनि कोशी प्रदेशमा प्रदेश प्रमुखको पद रिक्त छ। प्रदेश प्रमुख परशुराम खापुङको कार्यकाल गत कात्तिक २३ गते सकिएपछि पद खाली रहेको हो।
प्रदेश प्रमुखको अनुपस्थितिमा मुख्यमन्त्रीले राजीनामा कसलाई बुझाउने भन्ने प्रश्न उठेको एमालेका सांसदहरूले बताएका छन्।
एमाले सांसद एकराज कार्कीले प्रदेश प्रमुख नभएकै कारण तत्काल राजीनामाको प्रक्रिया अघि नबढेको हुन सक्ने बताएका छन्।
संविधानको धारा १६३ अनुसार प्रदेश प्रमुखको नियुक्ति राष्ट्रपतिबाट हुने व्यवस्था छ। प्रदेश प्रमुखको पद रिक्त हुँदा अर्को प्रदेशका बहालवाला प्रदेश प्रमुखलाई कार्यवाहक जिम्मेवारी दिन सकिने व्यवस्था संविधानको धारा १६५ मा छ।
तर त्यसका लागि मन्त्रिपरिषद्को सिफारिस आवश्यक पर्ने राष्ट्रपति कार्यालयका सहप्रवक्ता धर्मराज गौतमले बताएका छन्।
संघीय सरकारले नयाँ प्रदेश प्रमुख नियुक्तिको तयारी गरिरहेको स्रोतको दाबी छ। प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गर्न सक्ने बताइएको छ।
कोशीमा पटक–पटक फेरिएको सरकार
२०७९ पुस २४ गते हिक्मतकुमार कार्की कोशी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री बनेका थिए। त्यसयता प्रदेशमा पटक–पटक सरकार परिवर्तन भएको छ।
कार्कीपछि नेपाली कांग्रेसका उद्धव थापा र केदार कार्की मुख्यमन्त्री बनेका थिए। विभिन्न राजनीतिक समीकरण र अदालतका आदेशका कारण सरकार परिवर्तन हुँदै आएको थियो।
२०७९ देखि हालसम्म कोशी प्रदेशमा मुख्यमन्त्री र मन्त्रिपरिषद् गठन तथा पुनर्गठनको क्रम जारी छ। अहिले एमाले र नेपाली कम्युनिस्ट पार्टीबीचको गठबन्धनमा कार्की नेतृत्वको सरकार सञ्चालनमा छ।
मुख्यमन्त्री परिवर्तनको विषयले एमालेभित्र पुनः चर्चा पाएसँगै कोशी प्रदेशको सत्ता समीकरण कता मोडिन्छ भन्ने चासो बढेको छ।
