काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.२८ प्रतिशत अर्थात ७.३९ अंकले बढेर २ हजार ६१४.०७ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०६ प्रतिशतले बढेर ४४७.०५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३१ वटा स्क्रिप्टको ८७ लाख ४२ हजार ८४ कित्ता सेयर ३ अर्ब ७५ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । अघिल्लो दिन भने ४ अर्ब ६६ करोड ९५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।
आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्, ‘केही दिनयता लगातार घटेको बजार आज सामान्य अंकले बढेर थोरै राहत मिलेको छ, तर समग्रमा बजार अझैपनि साइडवेजमै बसेको देखिन्छ । अहिलेको पूँजीबजार राजनीतिक चेपटामा परेर गिजोलिएको छ । जबसम्म स्थिर सरकार बन्नका लागि राजनीतिक अवस्था केही हदसम्म साम्य बन्दैन तबसम्म लगानीकर्तामा एक किसिमको त्रास कायम रहिरहन्छ ।
भोलिका दिनमा चुनाव हुने निश्चित भई माहोल राम्रो बन्दै गएमा मात्रै लगानीकर्ताहरु बजारमा प्रवेश गर्न सक्छन् । अहिले लगानीका लागि उचित समय भएपनि लगानीकर्ताहरु लगानी गर्ने वा नगर्ने भन्ने विषयमा अन्योलमा छन् । अधिकांश लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा नै छन् ।’
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूह मध्ये ९ वटामा हरियाली छायो भने ४ वटामा रातो पोतियो । आज होटल समूह सर्वाधिक अर्थात ०.८८ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक समूह ०.३१ प्रतिशत, फाइनान्स ०.४०, हाईड्रो ०.८४, लगानी ०.१६, जीवन बीमा ०.८२, उत्पादन तथा प्रशोधन ०.५३, म्युचुअल फण्ड ०.३७ र अन्य ०.३४ प्रतिशतले बढ्यो ।
निर्जीवन बीमा समूह आज सर्वाधिक अर्थात ०.१७ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.१२, लघुवित्त ०.०६ र व्यापार ०.०१ प्रतिशतले घट्यो ।

