काठमाडौं। मधेस प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने प्रक्रियामा दलहरूले सहमति जुटाउन नसक्दा राजनीतिक जटिलता बढिएको छ। एमालेका सरोज कुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुखले तोकेको दाबी पेस गर्ने समयसीमा आज साँझ ५ बजे सकिँदै छ।
नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एउटै पक्षमा उभिए पनि दुबै दलले आफ्ना–आफ्नै तर्फबाट मुख्यमन्त्रीका लागि दाबी गरेपछि सहमति जुट्न नसकेको हो।
लोसपाका प्रदेशसभा सदस्य जयनुल राइनले बाह्रखरीसित भने, “३ बजेसम्म केही सहमति बन्ला, हामी अझै छलफलमै छौँ।”
मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मंसिर १७ गते संविधानको धारा १६८(२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थन प्राप्त गरी बहुमत बनाउन सक्ने सदस्यलाई मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका थिए।
सात दलबीच सहमति नजुटे र समयमै दाबी पेस नभए प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा पुनः एमालेलाई सत्ता गठनको अवसर खुल्न सक्ने सम्भावना देखिएको छ।
