काठमाडौं । सडक बोर्ड नेपालले यस वर्षदेखि सडक उपभोग दस्तुर (रोड टोल) आफैं संकलन गर्ने व्यवस्था लागू गरेको छ । यसअघि यो काम ठेक्कामार्फत गरिँदै आएको थियो, तर केही ठेकेदारहरूले उठाएको रकम बुझाउनै छाडेपछि बोर्डले प्रत्यक्ष रूपमा दस्तुर संकलन शुरू गरेको कार्यकारी निर्देशक गणेशबहादुर केसीले जानकारी दिए ।
दस्तुर संकलन अब विद्युतीय भुक्तानी (क्युआर कोड) मार्फत् सिधै बोर्डको बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ ।
कोभिड–१९ महामारीपछि रोकिएको टोल संकलन प्रक्रिया भैरहवा–भूमही सडकखण्डबाट पुनः सुरु गरिएको छ । चाँडै नै नारायणगढ–मुग्लिन, वीरगञ्ज–पथलैया र धरान–विराटनगर खण्डमा पनि संकलन थालिने तयारी भइरहेको छ । त्यस्तै मुग्लिङ–पोखरा, धुलिखेल–तातोपानी, बुटवल–लमही, लमही–कोहलपुर, कोहलपुर–अत्तरिया र अत्तरिया–गड्डाचौकी खण्डमा समेत टोल संकलन सुरु गर्ने तयारी भइरहेको कार्यकारी निर्देशक केसीले बताए ।
यसअघि ठेकेदारमार्फत दस्तुर संकलन गर्दा मनपरी शुल्क उठाउने र यातायात व्यवसायीलाई दुःख दिने गुनासो आएपछि बोर्डले विद्युतीय टोल गेटमार्फत् स्वयं संकलन गर्ने निर्णय गरेको हो ।
यातायात व्यवसायीको भाडा बढाउने माग
यातायात व्यवसायीहरूले भने दस्तुर तिर्नुपर्ने भएकाले भाडादर पनि बढाउनुपर्ने माग गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले खर्च उठाउन कठिन हुने भएकाले सडक दस्तुर भाडामा समायोजन गर्नुपर्ने बताए ।
तर सडक बोर्डका अधिकारीहरूले भने दस्तुर संकलनमार्फत् सडकमर्मत प्रभावकारी हुने र खाल्डाखुल्डी नबनेका कारण यातायात व्यवसायीको खर्च झनै घट्ने दाबी गर्छन् ।
कुन सडक खण्डमा कति दस्तुर ?
सरकारी सवारी साधनबाहेक सार्वजनिक तथा निजी सवारीबाट मात्र दस्तुर लिइनेछ ।
नारायणगढ–मुग्लिन
बस, मिनिबस, ट्रक, मिनिट्रक, हेभी इक्विपमेन्टः रु ५५
कार, जिप, पिकअप, भ्यान, ट्याक्टरः रु २५
तीनपांग्रे तथा मोटरसाइकलः नि:शुल्क
भैरहवा–भूमही
बस/ट्रक/हेभी इक्विपमेन्टः रु ३०
कार/जिप/पिकअप/भ्यान/ट्याक्टरः रु २०
तीनपांग्रे/मोटरसाइकलः रु १०
वीरगञ्ज–पथलैया
बस/ट्रक/हेभी इक्विपमेन्टः रु ५०
कार/जिप/पिकअप/भ्यान/ट्याक्टरः रु २०
तीनपांग्रे/मोटरसाइकलः रु १०
धरान-विराटनगर
बस/ट्रक/हेभी इक्विपमेन्टः रु ७५
कार/जिप/पिकअप/भ्यान/ट्याक्टरः रु २५
तीनपांग्रे/मोटरसाइकलः रु १०
नागढुंगा सुरुङमार्गमा लागू हुने दस्तुर
काठमाडौं प्रवेश गर्ने
कार/भ्यानः रु ६५
मिनिबस/मिनिट्रकः रु ११५
बस/ट्रकः रु २६०
अन्य भारी सवारीः रु ६००
काठमाडौंबाट बाहिरिने
कार/भ्यानः रु ६०
मिनिबस/मिनिट्रकः रु ८०
बस/ट्रकः रु २००
अन्य भारी सवारीः रु २५०
संकलित सबै दस्तुर सम्बन्धित सडक मर्मत तथा सम्भारमा खर्च हुने बोर्डले जनाएको छ ।
