Premier Cables
Premier Steel

कोशी प्रदेश विराटनगर

संसदीय समितिको निगरानी बढाउन मिडियाको भूमिक थप आवश्यक रहेकोमा जोड

Calendar बुधबार, कार्तिक २६, २०८२  | बिहान ११:०७ बजे

विराटनगर । संसदीय समितिको जिम्मेवारी र भूमिका थप बढेकोमा जोड दिइएको छ । समिति शक्तिशाली हुनुपर्छ । पहिलो कार्यकाल समेत निगरानीविहीन अवस्थामा गुजारेका संसदीय समितिको दोस्रो कार्यकालसमेत सन्तोषप्रद नभएको देखिएको छ ।

संसदीय पत्रकार मञ्च कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको मिडियाको भूमिका, समस्या, चुनौती र संसदीय निगरानीमा अबको बाटो विषय अन्तरक्रियामा मञ्चका संस्थापक अध्यक्ष गणेश लम्सालले समितिले सरकारका काममा चुस्त निगरानी गर्नुपर्ने भएपछि जनअपेक्षा अनुसार हुन नसकेको तथ्यांक पेश गरे । उनले भने,‘‘समितिले विधेयकमाथि मात्र छलफल गर्ने होइन, समिति सक्रिय हुने धेरै ठाउँ छन् । सरकारलाई मार्गदर्शन गर्न सक्छन् । उसको काममा खबरदारी गर्न सक्छन् तर कोशीमा बजेट अभाव, साधनस्रोत अभाव देखाएर समिति सरकारको छायाँ जस्तै भएको देखिन्छ ।’’ लम्सालले सरकारको खर्चको प्राथमिकता बजेटको र कानुनको कायान्वयन तथा त्यसमा हुने बेथितिविरुद्ध निगरानी बढाउनु पर्ने आवश्यकता रहेकोमा जोड दिए ।

बिज्ञापन

कोशी प्रदेशमा सातवटा संसदीय समिति छन् । अघिल्लो कार्यकालमा सार्वजनिक लेखा समितिसहित केहीले मुख्यमन्त्री कप फुटबल, ट्यारल सेन्टरमा भएका अनियमितता जस्ता विषयमा प्रारम्भिक अनुसन्धान र निगरानी गरेपनि त्यसको प्रतिवेदनसमेत सार्वजनिक गर्न नसकेको लम्सालको टिप्पणी थियो ।

पछिल्लो आन्दोलनपछि पनि कोशीमा संसदीय समितिको सक्रियतामा कमी भएको सहभागीहरुको भनाई थियो । बाढी तथा विपद्बाट भएको क्षतिका बेला समेत समिति निस्कृय जस्तै बनेका छन् । उनले भने,‘‘निगरानी र अनुगमनमा जाँदा समितिहरुले आफ्नै निकायका इन्जिनियर तथा प्राविधिक, विज्ञहरु लिएर जानुपर्छ नकी जहाँ अनुगमनमा गइएको हो त्यही निकायको सहयोग लिने ।’’ समितिका बैठक बसेरमात्र निगरानी नहुने भन्दै उनले कार्यक्षेत्रमा समेत समितिको सक्रियता चाहिएको बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमालले संचारक्षेत्रको चुनौती थप बढ्न थालेको र नयाँ परिस्थितिअनुरुप परिस्कृत भएर अघि बढ्नु पर्ने बेला आएको बताए । उनले भने,‘‘लोकतन्त्र र संघीयता स्थापनाका लागि सकारात्मक भूमिका निर्वाह गरेका संचारमाध्यम अहिले केही खस्किएको भन्ने आभाष हुन थालेको छ । तिनको प्रवद्र्धन गरेर सर्वसाधारणले सही सूचना पाउने अधिकार सुनिश्चित हुनुपर्छ ।

नेपाल पत्रकार महासंघ कोशीका पूर्वअध्यक्ष लिलावल्लभ घिमिरेले भने,‘‘समितिमा गएका विधेयकमाथि दफावार छलफल गर्ने तर सरोकारवालाबाट आएको सुझावलाई समेत नसमेट्ने, औपचारिकताका लागि मात्र सभामा आफ्नो वार्षिक प्रतिवेदन पेश गर्नेबाहेक समितिले खासै काम गरेको देखिएको छैन ।’’ घिमिरेले संसदीय पूर्ण अभ्यास र सरकारलाई गलत काम नगर्न नदिने समितिको सक्रियता आवश्यक रहेको सुझाव दिए ।

महासंघ कोशीका उपाध्यक्ष कुमोद अधिकारीले कोभिडयता संचारमाध्यमको आर्थिक अवस्था थप संकटपूर्ण बन्दै गएको बताउँदै मिडियालाई बचाउन सरकारले समेत विशेष कार्यक्रम घोषणा गर्नुपर्ने सुझाव दिए । उनले भने,‘‘पछिल्लो आन्दोलनका क्रममा धेरै पत्रकारहरु सुरक्षित महसुस गर्दै कार्यक्षेत्रमा खटिन सकेनन्, राज्यविहीनताको अवस्था महसुस गरे, आएका धेरै मिथ्या सूचनाको तथ्य उजागर गर्न सकेनन् ।’’

नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष महेन्द्र विष्टले अहिले पत्रकारिता स्वरुप विस्तारै फरक बन्दै गएको र डिजिटलाइज्ड भएको भन्दै समयअनुसार संचारमाध्यमले सही समाचार दिन सक्नुपर्ने बताए । उनले भने,‘‘सामाजिक सञ्जालमा धेरै गलत सूचना तथा तथ्य आउने भएकोले सही तथ्य पस्किएर पाठक, दर्शक र स्रोतालाई मिथ्या सूचनाबाट बचाउनु पर्ने सुझाव दिए ।’’

प्रेस चौतारी नेपाल कोशीका अध्यक्ष सुमन पुरीले सही र गलत कस्ता सूचना हुन् भन्ने सामाजिक सञ्जालमा खुट्याउन सर्वसाधारणलाई अफ्ठ्यारो भएको अवस्थामा मिडिया थप जिम्मेवार बन्नुपर्ने बेला आएको बताउँदै भने,‘‘आएका गलत र मिथ्या सूचनालाई चिरेर सही अनि तथ्यपरक विषयवस्तु दिन सक्नु नै अहिलेको आवश्यकता हो ।’’ उनले प्रदेश सभा र प्रदेश सरकारका विषयसँग सम्बन्धित समाचार पनि खोजपूर्ण र तथ्यांकयुक्त आउनु पर्ने सुझाव दिए ।

नेपाल प्रेस युनियक कोशीका अध्यक्ष मीनकुमार नवोदित श्रेष्ठले संचारमाध्यम संकटमा गुज्रिएको बेला यिनलाई बचाउन राज्यबाट विशेष पहल हुनुपर्ने सुझाव दिए । उनले भने,‘‘सामाजिक सञ्जालको दबदबा बढेको अवस्थामा आमसंचार क्षेत्रमा कार्यरत पत्रकारहरु पनि सही समाचार र सूचना दिन चनाखो हुनुपर्छ ।’’ श्रेष्ठले पत्रकारहरुको क्षमता अभिवृद्धिमा समेत सरकारले ध्यान दिनुपर्ने सुझाव दिए ।

नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष बन्धु पोखरेलले प्रिन्ट मिडिया विस्तारै ओह्रलो लागेको अवस्थामा अनलाइनमा केन्द्रीत हुनु बाध्यता भएको बताउँदै सही र तथ्यपरक समाचारका विषयवस्तु जनचाहना भएको सुनाए । उनले भने,‘‘गलत रुपमा सामाजिक सञ्जालमा आएका विषयवस्तुलाई तथ्यसहित अनलाइनहरुले पस्कन सक्नुपर्छ ।’’

पत्रकार विनोद सुवेदीले संचारमाध्यमहरुमा सकारात्मक कन्टेन्टको अभाव हुन थालेको बताए । पत्रकार अर्जुन आचार्यले खासगरी प्रिन्ट मिडियाको अवस्था खस्कदो गएको र बढ्दो खर्च धान्न नसकी अनलाइनमा जानुपर्ने बाध्यता आएको बताए ।




*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka