Premier Cables
Premier Steel

राजनीति

महेश आचार्य: कांग्रेसले ढिलो नगरी महाधिवेशन बोलाउनैपर्छ, अब समयले कुर्दैन

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक २१, २०८२  | बिहान ११:४५ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता महेश आचार्यले पार्टीमा देखिएको अन्योल, राष्ट्रिय राजनीति र लोकतन्त्रमा उत्पन्न संकटका सन्दर्भमा तत्काल महाधिवेशन बोलाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

शुक्रबार सार्वजनिक गरिएको आफ्ना धारणा पत्रमा उनले भनेका छन्, “देशको वर्तमान परिस्थितिअनुसार छोटो अवधिमा व्यापक परिवर्तन गर्नुपर्ने अवस्था आएको छ। पार्टीको पुनर्जागरणका लागि नयाँ अग्रसरता लिनुपर्छ। तर कांग्रेस आफैं अन्योलमा परेको छ, केन्द्रीय कार्यसमिति लम्बिँदै गएको छ — यो कुनै पनि प्रजातन्त्रवादीका लागि सन्तोषजनक होइन।”

उनका अनुसार देशमा अहिले अन्योलको अवस्था छ र यस्तो बेला बाटो देखाउने जिम्मेवारी कांग्रेसजस्तो पुरानो ऐतिहासिक पार्टीको हो। “लोकतन्त्र, संविधान, संसद र न्याय प्रणालीसँग जोडिएका गम्भीर मुद्दाहरूको समाधान र बाटो देखाउने काम कांग्रेसले नै गर्नुपर्छ,” उनले भने।

आचार्यले महाधिवेशनलाई पार्टीको सर्वोच्च निकाय भन्दै त्यसमार्फत नयाँ नेतृत्व, मार्गचित्र र सुधारको संकल्प ल्याउनुपर्नेमा जोड दिएका छन्। उनले भने, “हामीसँग धेरै विकल्प छैनन्। ढिलो गर्नु अब असक्षमता र अदूरदर्शिता हुनेछ। महाधिवेशनबाट मात्र कांग्रेस पुनर्जागृत हुन सक्छ।”

उनले अघिल्ला गल्तीहरूबाट सिक्दै, जनताका भावना आत्मसात् गरेर जनतामाझ जाने तयारी गर्न कांग्रेसलाई सुझाव दिएका छन्। “लोकतान्त्रिक पार्टीले आफ्ना गल्ती स्वीकार गर्न डराउनुपर्दैन। जनताको निराशा र अपेक्षालाई सम्बोधन गरेर मात्र लोकतन्त्र चल्छ,” उनले बताएका छन्।

आचार्यका अनुसार १४औं महाधिवेशनका करिब ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको माग गरिसकेका छन्, जसलाई अब “अनुरोध होइन, बहुमतको निर्णयसरह मान्नुपर्ने” उनले टिप्पणी गरे।

उनले पार्टी विधानका धारा १५, ४६ र ६६ उद्धृत गर्दै भने, “महाधिवेशन पार्टीको सर्वोच्च अधिकार सम्पन्न निकाय हो, जसले सबै निर्णय पुनः परीक्षण र संशोधन गर्न सक्छ। त्यसैले बहुमतको मागको उपेक्षा गर्न मिल्दैन।”

हालैको २४ घन्टाभित्र भएका घटनाहरू — नागरिकको मृत्यु, ऐतिहासिक सम्पदाको विनाश, निजी क्षेत्र र पर्यटनको क्षति, संवैधानिक व्यवस्थामा उलटफेर — का कारण देशमा उत्पन्न अस्थिरताप्रति उनले चिन्ता व्यक्त गरे।

“यी घटनाले दलका शीर्ष नेतृत्वको असफलतालाई उजागर गरेका छन्,” उनले भने, “राज्य संरचना र नीतिमा व्यापक सुधारका माग उठिरहेका छन्। युवा पुस्ताको आन्दोलनले नैतिकता र सुशासनको मुद्दा उठाएको छ, त्यसको सम्बोधन कांग्रेसले आफ्नै सर्वोच्च निकाय महाधिवेशनबाट गर्नुपर्छ।”

आचार्यले अन्त्यमा भने, “इतिहासका निर्णायक क्षणहरूमा कांग्रेसले देशलाई बाटो देखाएको छ। अहिले पनि त्यही जिम्मेवारी लिनुपर्ने बेला आएको छ — महाधिवेशन बोलाएर, नयाँ नेतृत्व र नयाँ बाटो तय गरेर।”

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka