Premier Cables
Premier Steel

विराटनगर

मिथ्या सूचना र भ्रामक समाचारबारे विद्यार्थीहरुसँग अभिमुखीकरण

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक १३, २०८२  | अपराह्न २:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । संसदीय पत्रकार मंच कोशी प्रदेशको आयोजनामा विराटनगरका विद्यार्थीहरुसँग तथ्य र भ्रामक सूचना तथा समाचार विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा आउने सूचना तथा समाचारको तथ्य परीक्षण गर्ने व्यवहारिक ज्ञानसहितको अभिमुखीकरण आयोजना गरिएको हो ।

बिज्ञापन

विराटनगर– ६ स्थित एभरेस्ट कलेजमा आयोजना गरिएको कार्यक्रममा ३० जना विद्यार्थी सहभागी थिए । खासगरी जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जालहरुमा आएका विभिन्न सूचना, समाचार तथा भिडियो कन्टेन्ट लगायत विषयमा धेरै सर्वसाधारण तथा युवापुस्तामा अन्योल देखिएको सन्दर्भमा विद्यार्थीमाझ अभिमुखीकरण आयोजना गरिएको मञ्चका अध्यक्ष कुमार लुइँटेलले बताए ।

कार्यक्रममा विज्ञ सरोज कार्कीले सही र मिथ्या सूचनाको प्रयोग, त्यसबाट उत्पन्न अन्योल तथा यसको तथ्य परीक्षण गर्ने विधिबारे विद्यार्थीलाई जानकारी गराएका थिए । विभिन्न अन्तर्राष्ट्रिय र स्वदेशको समेत उदाहारण प्रस्तुत गर्दै कार्कीले मिथ्या सूचना पत्ता लगाउने तथा त्यसबाट बच्ने उपायबारे जानकारी गराए । कार्कीले भने,‘‘प्रविधि र सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै अहिले चुनौती पनि थपिएको छ । तर सामाजिक सञ्जालमा आउने समाचार र अन्य विषयवस्तुको सत्यता परीक्षण प्रविधि प्रयोग गरेरकै गर्न सकिन्छ ।’’ उनले सहभागी विद्यार्थीलाई सत्य र तथ्य परीक्षण गर्ने विधिबारे समेत जानकारी गराए ।

कोशी प्रदेश सभाका सूचना अधिकारी निरोज ढकालले सभाले सूचना सम्प्रेषण गर्न अपनाएको विधि तथा प्लेटफर्मको विषयमा सहभागीहरुलाई जानकारी गराए । खुला संसदको अवधारणा अनुरुप कोशी प्रदेश सभाले प्रविधिको उच्चतम प्रयोगलाई बढावा दिएको भन्दै उनले भने,‘‘सभाका सबै गतिविधि मोबाइल र कम्प्युटरमै हेर्न मिल्ने बनाइएको छ । सभा सदस्यहरुको सबै जानकारी दिने क्वीआरकोड, मोबाइल एप्स, वेभसाइट र यूटुयुब च्यानललाई अझ बढी प्रभावकारी ढंगले अघि बढाइएको छ ।’’ जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति र फेरिएको परिवेशमा खुला संसद र सूचना सही प्रसारका लागि सभाले युवापुस्तालाई समेत विविध कार्यक्रममा सहभागी गराउने योजना रहेको सुनाए ।

उनले संघीयता आई प्रदेश संरचनामा गएपछि प्रदेश सभाले युवा तथा विद्यार्थीहरुसँग छलफल तथा संसद संचालनको तरिकाबारे व्यवहारिक रुपमा विभिन्न स्थानीय तहमा पुगेर कार्यक्रम गरिरहेको जानकारी गराए । सभामुख, उपसभामुख, प्रदेश सभा सचिव र कर्मचारीहरुको टोलीले प्रदेश कानुन कार्यान्वयनको अवस्थाबारे समेत अन्तरक्रिया तथा कार्यक्रम गर्दै आएको सुनाए ।

एभरेस्ट कलेजका भाईस प्रिन्सिपल टिएन भण्डारीले पत्रकार, प्रदेश सभा सचिवालय र संचार विज्ञसहितको टोलीले विद्यार्थीहरुसँग अहिलेको जल्दोबल्दो विषयमा गरेको कार्यक्रम अत्यन्तै फलदायी भएको बताए । उनले भने,‘‘मिथ्या सूचना र भ्रामक समाचारबारेको अन्योलता हटाउन यस्ता कार्यक्रम निकै फलदायी हुन्छन् ।’’ कार्यक्रममा सहभागी विद्यार्थीले कार्यक्रमपछि मिथ्या सूचना र भ्रामक समाचार छुट्याउन आफूहरुलाई अब सहयोग मिल्ने बताए ।

सहभागी आकाश श्रेष्ठले आफू पहिलो पटक यस्तो कार्यक्रममा सहभागी भएको बताउँदै अबदेखि सामाजिक सञ्जालमा आउने सूचना परीक्षण गर्ने विधिबारे जानकारी मिलेको बताए । विद्यार्थी कृपा पोखरेलले सामाजिक सञ्जालमा आउने भिडियो, समाचार, फोटो आदिको सत्यता परीक्षण गर्न अब ज्ञान प्राप्त भएको बताइन ।

संसदीय पत्रकार मंचले यसअघि युवाहरुसँग यस्तै कार्यक्रम आयोजना गरेको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka