






विराटनगर । जहदा गाउँपालिकाको धोनीस्थित जनता आधारभूत विद्यालयमा रोटरी क्लब अफ बिराटनगर डाउनटाउनले बाढीपीडित ७० परिवारलाई राहत सामग्री वितरण गरेको छ।
राहतका रूपमा चिउरा, भुजा, सोया चङ्क्स, नुडल्स, बिस्कुट, स्न्याक्स र साबुन लगायतका अत्यावश्यक खाद्य तथा सरसफाइ सामग्रीहरू वितरण गरिएको हो। कार्यक्रमको उद्देश्य बाढीबाट प्रभावित परिवारहरूलाई तत्काल राहत पुर्याउनुका साथै समुदायमा सहयोग र सहानुभूतिको भावना सुदृढ गर्नु रहेको थियो।
कार्यक्रमको नेतृत्व क्लबकी अध्यक्ष रोटेरियन गिरीजा सारडाले गरेकी थिइन । उक्त अवसरमा सरिता गोल्छा, दीप्ति टोडी, पूनम राठी, मधु काबरा र अर्चना तापरिया उपस्थित रहेका थिए ।
रोटरी क्लब अफ विराटनगर डाउनटाउनले यस विद्यालय र समुदायमा तीन महिनाको प्रौढ साक्षरता कार्यक्रम पनि सञ्चालन गरिरहेको छ, जसले महिलाहरूलाई पढ्ने, लेख्ने र आधारभूत गणना गर्ने सीप प्रदान गर्दै सशक्त बनाइरहेको छ।
स्थानीय बासिन्दाहरूले रोटरी क्लबको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै, यस प्रकारका मानवीय र शैक्षिक पहलले गाउँमा स्थायी परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
रोटरी क्लब अफ विराटनगर डाउनटाउनले यसअघि पनि स्वास्थ्य, शिक्षा, सरसफाइ र विपद् व्यवस्थापनका क्षेत्रमा विभिन्न सामुदायिक परियोजना सञ्चालन गर्दै आएको छ।