






विराटनगर । विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्रा शुरु भएको छ । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पूजाअर्चना गरी रथयात्रा शुभारम्भ गरेका हुन् ।
मेनरोड हुँदै अघि बढेको रथले ४४ स्थानमा विश्राम गर्ने छ । तीनपैनी चोकमा विश्राम लिएको रथको विश्राम स्थल धनावत निवास अगाडि हुँदै विराटेश्वर मन्दिरबाट महानगरपालिकाको गेटमा रोकिएको छ । त्यसपछि गोल्छामोड तर्फ अघि बढ्ने छ ।
यस क्रममा तोकिएका स्थानमा भक्तजनले पूजा गर्ने व्यवस्था मिलाइएको मूल आयोजक समितिले जनाएको छ । मेनरोड हुँदै निस्कने रथयात्राले नगरका विभिन्न भाग परिक्रमा गरी कोसी राजमार्ग हुँदै बरगाछी पुगेर पुनः मन्दिर परिसरमा आई समापन हुने छ । यस क्रममा रथले ९ किलोमिटर दूरी तय गर्ने मूल आयोजक समितिले जनाएको छ ।
रथ शुभारम्भ समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले विराटनगरको रथयात्रा देशको मात्र नभई एसियाकै दोस्रो ठूलो उत्सव भएको बताए । उनले नेपाल जातीय र धार्मिक विविधताका हिसाबले सम्पन्नशाली राष्ट्र भएको बताए ।