






काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ ।
आज नेप्से परिसूचक ०.९७ प्रतिशत अर्थात २७.९० अंकले घटेर २ हजार ८२२.४६ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९६ प्रतिशतले घटेर ४८५.४१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको २ करोड ५० लाख ९२ हजार ४९० कित्ता सेयर १० अर्ब २१ करोड १ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको कारोबार गत बिहिबारको तुलनामा भने बढी हो । उक्त दिन ८ अर्ब ५३ करोड बढीको सेयर कारोबार भएको थियो ।
आजको बजारबारे बजार जानकार अजय सिंह थापा भन्छन्, ‘गूड न्यूज आएपछि सेयर बिक्री गर्ने मनोविज्ञानका कारण कम्पनीहरुको चौथौ त्रैमासको रिपोर्ट राम्रो आएपनि बजारमा बिक्री दबाब आयो । यस्तै अब यस सिजनका गूड न्यूजहरु पनि लगभग सकिसके । प्राविधिक रुपमा पनि बजारको माथि लाग्ने वेब सकिएको देखिन्छ ।’
त्यही कारण डिसेम्बर अघि बजारमा ठूलो र्यालीको सम्भावना कमै रहेको र सानोतिनो बढोत्तरी भने हुन सक्ने उनले बताए ।
अर्का बजार जानकार सरोज भट्टराईले मुख्य गरी दुई–तीनवटा कारणले बजारमा गिरावट आएको बताए । सीडीएससीको आईजीनको विषय, प्रि–आईपीओमार्फत बजारबाट पैसा बाहिरिनु, ठूलो कारोबारसँगै ठूला लगानीकर्ता बजारबाट निस्कनु र ठूला चाडपर्व नजिकिएका कारण बजारमा गिरावट आएको उनले बताए ।
यस्तै साना लगानीकर्ताले आत्तिएर सेयर बेचेका कारण समेत आज बजारमा गिरावट आएको उनले बताए ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज म्युचुअल फण्ड र अन्य समूह मात्रै बढे । यी समूहहरु आज क्रमशः ०.३२ र ०.२६ प्रतिशतले बढे ।
विकास बैंक समूह आज सर्वाधिक अर्थात २.४३ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि ०.३३ प्रतिशत, फाइनान्स १.३१, होटल १.०६, हाईड्रो १.५०, लगानी १.०३, जीवन बीमा ०.९८,उत्पादन तथा प्रशोधन ०.७८, लघुवित्त २.३३, निर्जीवन बीमा १.१४ र व्यापार समूह १.५९ प्रतिशतले घट्यो ।