काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक झिनो अंकले बढेको छ। आज नेप्से परिसूचक ०.०१ प्रतिशत अर्थात ०.३१ अंकले बढेर २ हजार ५४४.९१ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०३ प्रतिशतले घटेर ४४०.८८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२९ वटा स्क्रिप्टको ७६ लाख ५ हजार ५८४ कित्ता सेयर ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार प्रकाश रजौरे भन्छन्, ‘अहिले लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् । लगानीकर्ताहरुमा कन्फिडेन्ट बढ्न सकिरहेको छैन । दीर्घकालिन लगानी गर्नेहरु विशेषगरी मौद्रिक नीतिको समिक्षाको पखाईमा पनि छन् । अहिले जति पनि कारोबार भइरहेको छ, त्यो सबै ट्रेडरहरुबाट भएको कारोबार हो ।
अझैपनि केही समूहले आन्दोलन गर्ने कुराले लगानीकर्ताहरु त्रसित पनि छन् । यस्ता विषयले लगानीकर्तामा मनोबल बढ्न सकिरहेको छैन । अब लगानीकर्ताले अपेक्षा गरेअनुसार र राष्ट्र बैंकले पनि केही सहजीकरण गरी मौद्रिक नीतिको समिक्षा ल्याएमा बजारमा केही सुधार हुन सक्छ ।’
अर्का बजार जानकार दामोदर गजुरेल पनि अहिलेको बजार साइड वेजमा चलिरहेको बताउँछन् । उनी भन्छन्, ‘बजार न घट्छ न त बढ्न नै सक्छ । लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा नै छन् । बजारलाई पछिल्लो समय राजनीतिक विषयले नै बढी प्रभाव पारिरहेको छ । लगानीकर्ताहरुले बजारमा सीमित स्क्रिप्टहरु मात्रै चलाइरहेका छन्, यसकारण कारोबार पनि बढ्न सकिरहेको छैन । केही समयसम्म बजार यहि आसपासमै रहने देखिन्छ ।’
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटामा हरियाली छायो भने अन्य ६ वटामा रातो पोतियो । आज व्यापार समूह सर्वाधिक बढ्यो । यो समूह आज ०.७९ प्रतिशतले बढ्यो ।
यस्तै बैंकिङ समूह ०.१२ प्रतिशत, फाइनान्स ०.०९, होटल ०.७२, हाईड्रो ०.२२, म्युचुअल फण्ड ०.२० प्रतिशत र लघुवित्त समूह ०.४५ अंकले बढ्यो ।
निर्जीवन बीमा समूह आज सर्वाधिक अर्थात ०.४६ प्रतिशतले घट्यो । विकास बैंक समूह ०.०८, लगानी ०.०७, जीवन बीमा ०.२३, उत्पादन तथा प्रशोधन ०.२९ र अन्य समूह ०.२४ प्रतिशतले घट्यो ।

