Premier Cables
Premier Steel

समाचार

मोरङको कटहरीबाट १०५ बोरा गाँजा बरामद, ट्रक चालक फरार

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार २९, २०८२  | अपराह्न १२:५२ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङको कटहरी गाउँपालिका–३ स्थित कटहरी चोकबाट प्रहरीले शनिबार मध्यराति झण्डै ३१ क्विन्टल (३ हजार १ सय ५० किलो) गाँजा बरामद गरेको छ।

कटहरी प्रहरी चौकीका वरिष्ठ सई भीम खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले राति १२ बजेतिर नियमित चेकजाँचका क्रममा को १ ख ४५१८ नम्बरको ट्रक रोकेर खानतलासी गर्दा १०५ बोरा गाँजा फेला पारेको हो।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, ट्रकमा माथि बन्दकोपीका बोराहरू लोड गरिएको देखिए पनि भित्री भागमा गाँजाका बोरा लुकाइएका थिए। शंका लागेपछि ट्रकलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा गाँजा भेटिएको हो।

गाँजा लुकाइएको ट्रक छाडेर चालक भने भागेका छन्। प्रहरी अहिले फरार चालकको खोजीमा छ।

डीएसपी चुँडालका अनुसार, उक्त गाँजा कहाँबाट ल्याइएको र को कसले पठाएको भन्ने अझै यकिन भइसकेको छैन। तर, प्रारम्भिक अनुमानअनुसार पहाडी जिल्लाबाट भारततर्फ तस्करी गर्न ल्याइएको हुन सक्ने आशंका गरिएको छ।

हाल बरामद गरिएका गाँजा र ट्रकलाई जिल्ला प्रहरी कार्यालय, मोरङमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो घटनालाई अहिलेसम्म मोरङमा एकैपटक बरामद भएको सबैभन्दा ठूलो परिमाणको गाँजा बरामदको रूपमा लिइएको छ।

यसअघि, असार २५ गते धनपालथान गाउँपालिका–१ स्थित गदिया खोलानजिकै उखुबारीबाट ८ सय २ किलो गाँजा बरामद गरिएको थियो।

गाँजाको बढ्दो ओसारपसार र कारोबार नियन्त्रणका लागि मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाको निर्देशनमा विशेष टोली परिचालन गरिएको छ। उनका अनुसार, अवैध लागुऔषध कारोबार रोक्न निगरानी कडा पार्दै विशेष अपरेशन सञ्चालन भइरहेको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka