






काठमाडौं । राजनीतिमा पुनः सक्रिय हुने घोषणा गरेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न राजनीतिक भेटघाट तीव्र पारेकी छन्। यस्तैक्रममा उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग भेटवार्ता गरेकी छन्।
मेयर बालेनले भण्डारीको निजी निवास भंगालामा पुगेर भेट गरेका छन्। मेयर बालेन निकट स्रोतका अनुसार भेटवार्ता एमालेका एक नेताको पहलमा तय भएको हो। भेटका क्रममा पूर्वराष्ट्रपति भण्डारीले काठमाडौं महानगरपालिकामा पछिल्लो समय देखिएको बजेटसम्बन्धी विवादप्रति चासो व्यक्त गरेकी थिइन्।
भण्डारीले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नआउनुका कारणबारे जानकारी लिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार उनले विशेषगरी बजेट नल्याउने परिस्थितिका बारेमा सोधपुछ गर्दा मेयर बालेनले आफूले भोगिरहेको असहजता स्पष्ट पारेका थिए।
महानगरमा कार्यपालिका बैठक नै बस्न नसकेको अवस्थाका कारण हालसम्म पनि बजेट सार्वजनिक गर्न सकिएको छैन। प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिका सदस्यबीच सहमति जुट्न नसक्दा काम अघि बढ्न सकेको छैन। यही पृष्ठभूमिमा पूर्वराष्ट्रपति भण्डारीले चासो देखाएको बताइएको छ।