Premier Cables

विराटनगर

विरोधका बीच महेन्द्र मोरङ क्याम्पसका रुख काटिए

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र ३१, २०८३  | अपराह्न २:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । वातावरण अभियन्ता र विद्यार्थीको विरोधका बीच महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर परिसरका मसलाका रुख काट्न सुरु गरिएको छ । क्याम्पस परिसरको पूर्वपट्टि रहेका १३ वटा ठूला मसलाका रुखमध्ये यसअघि चारवटा काटिएपछि रोकिएको कटान कार्य बुधबार बाँकी रुख काटिएका छन् ।

क्याम्पस प्रशासनले ती रुखहरू जोखिमयुक्त रहेको भन्दै कानुनी प्रक्रिया पूरा गरी सार्वजनिक लिलाममार्फत बिक्री गरेको जनाएको छ । तर, वातावरण अभियन्ता र केही विद्यार्थीले भने वर्षौं पुराना रुख संरक्षण गर्नुको सट्टा कटान गरिएको भन्दै विरोध गर्दै आएका छन् ।

विज्ञापन

क्याम्पसको मूल गेटदेखि उत्तरतर्फ रहेका रुखहरू हावाहुरीका बेला ढलेर मानवीय तथा भौतिक क्षति हुन सक्ने जोखिम रहेको भन्दै स्थानीयले २०८२ चैत २५ गते जिल्ला प्रशासन कार्यालय मोरङ र क्याम्पस प्रमुखसमक्ष निवेदन दिएका थिए । निवेदनपछि जिल्ला प्रशासन कार्यालयले २०८३ वैशाख १५ गते आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय मोरङलाई पत्राचार गरेको थियो ।

त्यसपछि क्याम्पस प्रशासनले प्राध्यापक संघ, कर्मचारी संघ र स्ववियु पदाधिकारीसँग परामर्श गरी वैशाख २३ गते पाँच सदस्यीय कार्यकारी समितिबाट रुख व्यवस्थापन गर्ने निर्णय गरेको थियो । वन कार्यालयले ‘वन तेस्रो संशोधन नियमावली २०८२’ अनुसार प्रक्रिया पूरा गर्न निर्देशन दिएपछि मूल्याङ्कन समिति गठन गरिएको थियो ।

क्याम्पस प्रमुख डा। रामअवतार शरणको संयोजकत्वमा गठित समितिमा नापी शाखाका प्राविधिक अधिकृत विष्णु देव यादव र विराटनगर–१२ का वडा सचिव भक्तप्रसाद बुढाथोकी सदस्य थिए । समितिले १३ वटै मसलाका रुख जोखिमपूर्ण रहेको ठहर गर्दै हटाउन सिफारिस गरेको थियो ।

डिभिजन वन कार्यालयका प्राविधिकले १ हजार २०७ क्युबिक फिट काठको न्यूनतम सरकारी मूल्य २ लाख ३८ हजार १६५ रुपैयाँ निर्धारण गरेका थिए । त्यसपछि क्याम्पसले लिलाम प्रक्रियाका लागि न्यूनतम मूल्य ५ लाख रुपैयाँ तोकेर जेठ २१ गते गोरखापत्रमा २१ दिने सार्वजनिक शिलबन्दी बोलपत्र आह्वान गरेको थियो ।

असार ११ गते जिल्ला प्रशासन कार्यालय मोरङका प्रतिनिधि, वन कार्यालयका अधिकृतलगायतको रोहबरमा खोलिएको बोलपत्रमा सबैभन्दा बढी ७ लाख ४६ हजार ९९९ रुपैयाँ कबोल गर्ने न्यु नवदुर्गा स मिलको प्रस्ताव स्वीकृत भएको थियो । व्यवसायीले रकम बैंकमा दाखिला गरेपछि क्याम्पसले साउन १२ गते रुख कटानको अनुमति दिएको थियो ।

तर, रुख काट्ने तयारी भएपछि भदौ २४ गते केही विद्यार्थी र स्थानीयले कटान रोक्न चेतावनी दिएका थिए । क्याम्पस बिदा रहेको भदौ २७ गते शनिबार ठेकेदारले कटान सुरु गरी चारवटा रुख ढालेपछि विवाद थप चर्किएको थियो ।

हरित विराटनगर अभियानका संयोजक तथा रुख रोप्ने अभियन्ता पारुल क्षेत्रीसहित केही विद्यार्थी घटनास्थल पुगेपछि कटान तत्कालका लागि रोकिएको थियो । क्षेत्रीले दशकौँ पुराना रुख संरक्षण गर्नुको सट्टा कटान गरिएको भन्दै विरोध जनाएका छन् । उनका अनुसार जोखिमयुक्त हाँगा भए छाँट्न सकिने अवस्थामा पूरै रुख ढाल्नु उपयुक्त होइन ।

क्याम्पस प्रशासनले भने रुख कटानपछि उक्त स्थानमा हरित पार्क निर्माण गर्ने जनाएको छ । क्याम्पस प्रमुखले पुराना रुख हटाएर नयाँ बिरुवा रोप्ने योजना रहेको बताएका छन् ।

रुख कटानमा अवरोध भएपछि नेपाल वन पैदावार उद्योग व्यवसायी संघ मोरङले भने आपत्ति जनाएको छ । संघले क्याम्पसले प्रचलित कानुन र निर्धारित प्रक्रिया पूरा गरी सार्वजनिक लिलाममार्फत बिक्री गरेको र व्यवसायीले विधिवत रूपमा सकार गरिसकेको अवस्थामा फिल्डमै पुगेर कटान रोक्नु अनुचित भएको जनाएको छ ।

संघले लिलाम वा निर्णयप्रति असहमति भए सम्बन्धित निकायमा कानुनी उपचार खोज्न सकिने भन्दै सामाजिक सञ्जाल तथा सार्वजनिक रूपमा घटनालाई बढाइचढाइ नगर्न आग्रह गरेको छ ।

यता, ‘गो ग्रिन विराटनगर’ का अभियानकर्मी सुशील तिम्सिनाले व्यावसायिक प्रयोजनका लागि रोपिएका रुख उमेर पुगेपछि कानुनी प्रक्रिया पूरा गरेर काटिनु सामान्य विषय भएको बताएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka