काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतर्फ अवस्थित रहेको छ।
आइतबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। यस अवधिमा हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको सम्भावना रहेको छ। यस्तै, कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको अनुमान गरिएको छ।
दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि देशभरको मौसम साधारणतया बदली नै रहनेछ। रातिको समयमा हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। तराई क्षेत्रतर्फ मधेस र कोसी प्रदेशका केही स्थान तथा वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ।
महाशाखाका अनुसार रातिको समयमा विशेष गरी कोसी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
