राजविराज । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्राङ्गण बाहिर सडकमै महिलाले बच्चा जन्माउनुपरेको घटनापछि अस्पताल प्रशासनले कारबाही अघि बढाएको छ। लापरबाहीको आरोपमा अस्पतालले एक चिकित्सकसहित छ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ।
मंगलबार राति प्रसूति गराउन श्रीमान् हरेराम पासवानसँगै अस्पताल पुगेकी बबिता पासवानले बुधबार बिहान ४ः३० बजे सडकमै शिशुलाई जन्म दिएकी थिइन्।
अस्पतालमा भर्ना नपाई सडकमै बच्चा जन्माउनुपर्ने परिस्थिति बनेपछि अस्पताल प्रशासनको ध्यानाकर्षण भएको थियो। निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाका अनुसार घटनाबारे गठन गरिएका छानबिन समितिहरूको अन्तिम प्रतिवेदन नआएसम्मका लागि उनीहरूलाई कामकाजमा रोक लगाइएको हो।
कारबाहीमा परेका कर्मचारीहरू:
* डा. उषा देव (चिकित्सक)
* अनिता कुमारी साह (स्टाफ नर्स)
* सजन चौधरी (स्टाफ नर्स)
* रेणु ठाकुर (कार्यालय सहयोगी)
* केष्णा मेहतर (स्वीपर)
* देबकान्त झा (सुरक्षा गार्ड)
