काठमाडौँ | रसुवाको भोटेकोशीमा आएको बाढीपछि सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित र प्रसारित सामग्रीको अनुगमन गर्दा २३३ वटामा पत्रकारिताको आचारसंहिता उल्लङ्घन भएको पाइएको छ।
प्रेस काउन्सिल नेपालका अनुसार अनुगमनमा पीडितको संवेदनशील अवस्थालाई बेवास्ता गरिएको, अपुष्ट तथा भ्रमपूर्ण सूचना सम्प्रेषण गरिएको, सामग्रीलाई अतिरञ्जित ढङ्गले प्रस्तुत गरिएको तथा पत्रकारिताका स्थापित मूल्य र मान्यताको पालना नगरिएको पाइएको हो।
काउन्सिलले सार्वजनिक गरेको विवरणअनुसार आचारसंहिताविपरीत पाइएका सामग्रीमध्ये ९१ वटा सञ्चारमाध्यम, १०१ वटा गैरसञ्चारमाध्यम र ४१ वटा पत्रकारसँग सम्बन्धित छन्।
आचारसंहिताविपरीत सामग्री सच्याउन, हटाउन वा आवश्यक सुधार गर्न दिइएको निर्देशनमध्ये २०७ वटा पालना भएको र १९ वटा अझै पालना नभएको काउन्सिलले जनाएको छ। सम्बन्धित पक्षलाई फोन, सन्देश तथा पत्राचारमार्फत सामग्रीको प्रकृतिअनुसार आवश्यक कदम चाल्न निर्देशन दिइएको थियो।
अनुगमनका क्रममा सामाजिक सञ्जालमा पुराना दृश्यलाई भोटेकोशी बाढीको घटनासँग जोडेर प्रस्तुत गरिएको, घटनाको वास्तविक अवस्थाभन्दा फरक सूचना प्रवाह गरिएको तथा पुष्टि नभएका दाबीलाई समाचारका रूपमा प्रसार गरिएकोसमेत पाइएको काउन्सिलले जनाएको छ।
विपद्का समयमा समाचार तथा सूचना सम्प्रेषण गर्दा पीडितको मानवीय मर्यादा, गोपनीयता र सुरक्षालाई प्राथमिकता दिनुपर्ने भन्दै काउन्सिलले घाइते, मृतक तथा उद्धारको प्रतीक्षामा रहेका व्यक्तिका तस्बिर र दृश्य प्रयोग गर्दा विशेष संवेदनशीलता अपनाउन आग्रह गरेको छ।
त्यस्तै, सामाजिक सञ्जालबाट प्राप्त सूचना तथा श्रव्यदृश्यलाई स्वतन्त्र रूपमा तथ्य पुष्टि नगरी प्रकाशन तथा प्रसारण गर्दा गलत सूचना फैलिन सक्ने भएकाले समाचार सार्वजनिक गर्नुअघि तथ्य पुष्टि गर्न सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई काउन्सिलले आग्रह गरेको छ।
