काठमाडौँ | रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार भारत आइपुग्नुभएको छ। शनिबारदेखि सुरु हुने सम्मेलनमा मध्यपूर्वको तनाव, युक्रेन युद्ध, विश्वव्यापी व्यापारमा देखिएको अस्थिरता र ऊर्जा सुरक्षालगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि सम्मेलनमा सहभागी हुन भारत आउँदै हुनुहुन्छ। सन् २०१९ पछि उहाँको यो पहिलो भारत भ्रमण हो। भारत–चीन सीमामा भएको घातक झडपको छ वर्षपछि हुन लागेको भ्रमणलाई दुई देशबीचको सम्बन्ध सुधारका लागि महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ। यद्यपि सीमा विवाद, व्यापार घाटा र रणनीतिक प्रतिस्पर्धाका कारण दुई देशबीचको अविश्वास कायमै छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार राष्ट्रपति पुटिनसँग भेटवार्ता गर्ने कार्यक्रम छ। रुस भारतको महत्वपूर्ण रणनीतिक साझेदार तथा प्रमुख इन्धन आपूर्तिकर्ता रहँदै आएको छ। इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पनि प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ।
ब्रिक्सको विस्तारसँगै मध्यपूर्वका विषयमा सदस्य राष्ट्रहरूबीच मतभिन्नता बढेको छ। भारतको अब्जर्भर रिसर्च फाउन्डेसनका हर्ष वी पन्तले खाडी क्षेत्रको द्वन्द्व यसपटकको सम्मेलनमा मुख्य विभाजनको विषय बन्न सक्ने बताउनुभएको छ। क्यापिटल इकोनोमिक्सका सिलान शाहले इरानमा जारी युद्धले विस्तारित ब्रिक्सको एकताको परीक्षण गर्ने बताउनुभएको छ।
संयुक्त अरब इमिरेट्सका राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यान, साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान र इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी पनि सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ।
भारतले इरान र इजरायलसँगको सम्बन्धसँगै अमेरिकासँगको रणनीतिक साझेदारीलाई पनि सन्तुलनमा राख्दै आएको छ। यसै महिनामा भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशङ्करले युक्रेनको राजधानी किएभको भ्रमण गर्नुभएको थियो।
