काठमाडौं । नेपाली सेनाले नुवाकोटको विदुर नगरपालिका–५ स्थित देवीघाटमा तादी नदीमाथि ५७.९ मिटर लामो ‘एक्रो ब्रिज’ जडान कार्य सम्पन्न गरेको छ।
गत भदौ १० गते भोटेकोसीको बाढीले तादी नदीको पक्की पुल बगाएपछि यस क्षेत्रको यातायात र जनजीवन पूर्ण रूपमा प्रभावित भएको थियो। स्थानीयवासीको सहज आवतजावतलाई ध्यानमा राख्दै सेनाले ५.५ मिटर चौडाइ भएको यो अस्थायी स्टिल पुल तयार पारेको हो।
बुधबार साँझदेखि निर्माण सम्पन्न भएसँगै पैदलयात्रीका लागि पुल खुला गरिएको छ भने सवारी साधन सञ्चालनको तयारी भइरहेको छ। ६० टनसम्म भार वहन क्षमता रहेको यस पुलबाट साना गाडी दुवैतर्फ र ठूला मालवाहक गाडी भने पालैपालो एकपटकमा एउटा मात्रै वारपार गर्न सक्नेछन्।
बाढी, पहिरो वा अन्य विपद्का बेला भत्किएका स्थायी पुलको विकल्पमा छिटो जडान गर्न सकिने यस्ता ‘एक्रो ब्रिज’ आवश्यकताअनुसार लम्बाइ बढाउन वा घटाउन सकिने प्रविधिका हुन्छन्। सेनाले आगामी दिनमा बेत्रावती र त्रिशूली बजार क्षेत्रमा पनि यसैगरी एक्रो ब्रिज जडान गर्ने योजना बनाएको छ।
