काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसकी सांसद प्रमिला गच्छदारले देशभर बालबालिकामाथि भइरहेका जघन्य बलात्कार र हत्याका घटना नियन्त्रण गर्न राहत प्रणाली होइन, कडा कानुनी प्रहारको माग गरेकी छन्।
बाराको जितपुर-सिमरामा ३ वर्षीया गरिमा चौधरी र २ वर्षीया खुशी खातुनको क्रूर हत्या प्रकरणलाई संसद्मा उठाउँदै उनले सरकारको फितलो नीतिको तीव्र आलोचना गरिन्।
सदनमा सांसद गच्छदारद्वारा उठाइएका प्रमुख विषय
सम्झौता र क्षतिपूर्ति नीतिको विरोध: घटना घट्दा सडक तात्ने र सरकारले केही लाखको क्षतिपूर्ति तथा सम्झौता गरेर विषय सामसुम पार्ने परिपाटीले बालिकाको जीवनको मोल तोक्न नसक्ने सांसद गच्छदारको दाबी।
मिलापत्रको अन्त्य र कडा सजाय: जघन्य अपराधमा दबाबपूर्ण मिलापत्र गराउने मतियारलाई कडा सजाय हुनुपर्ने र बलात्कारपछि हत्या प्रमाणित भएमा ‘वास्तविक जन्मकैद’ को कानुनी व्यवस्था कडाइका साथ लागू गरिनुपर्ने।
कानुनी हदम्याद खारेजी: बालिका यौन हिंसा र बलात्कारजस्ता गम्भीर अपराधमा पीडितको न्याय पाउने हक सुनिश्चित गर्न विद्यमान कानुनी हदम्याद पूर्ण रूपमा हटाइनुपर्ने।
द्रुत न्यायका लागि फास्ट-ट्रयाक अदालत: बालबालिकाविरुद्धका अपराध हेर्न फास्ट-ट्रयाक विशेष अदालत गठन गरी बढीमा ३ देखि ६ महिनाभित्र अन्तिम फैसला गर्ने बाध्यकारी कानुनी संयन्त्र बनाउनुपर्ने।
फोरेंसिक क्षमता विस्तार: प्रमाण नष्ट हुन नदिन जिल्ला स्तरमै आधुनिक फोरेंसिक प्रयोगशाला र तालिमप्राप्त अनुसन्धान अधिकृत खटाउनुपर्ने।
बालिकाहरू निर्धक्क बाँच्न पाउने वातावरण नबनेसम्म सरकारको औचित्यमाथि प्रश्न उठिरहने भन्दै सांसद गच्छदारले तत्काल कानुन संशोधन विधेयक संसद्मा पेस गर्न माग गरेकी छन्।

