विराटनगर । कोशी प्रदेशसभाको बैठकमा सरकार विस्तारका क्रममा मन्त्रिमण्डलमा तीन जना महिलालाई स्थान दिइएको प्रसङ्गलाई लिएर नेकपा (एमाले) का सांसद एवं पूर्वमन्त्री रामबहादुर मगरले व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा गठित नयाँ मन्त्रिमण्डलमा गीता तिम्सिना (सामाजिक विकास मन्त्री), खिनु लङ्वा लिम्बू (पर्यटन, वन तथा वातावरण मन्त्री) र सपना दर्जी (भौतिक पूर्वाधार विकास राज्यमन्त्री) नियुक्त भएपछि अधिकांश सांसदहरूले यसलाई ऐतिहासिक कदमका रूपमा प्रशंसा गरिरहेका छन्। तर, बैठकको विशेष समयमा बोल्दै सांसद मगरले भने, “पोथीहरू पनि सक्षम हुनुहुन्छ, अब फूल पार्ने र चल्ला निकाल्ने कामको जिम्मा पाउनुभएको छ।”
पुरुष (भाले) हरूले मात्रै नेतृत्व गर्दा विभेद भएको महसुस गरिरहेका महिला (पोथी) हरूले अहिले जिम्मेवारी पाएको उल्लेख गर्दै उनले आमाहरूको मन फराकिलो हुने भएकाले कसैलाई पक्षपात नगरि सरकार सञ्चालन गर्ने आशा व्यक्त गरे।
सांसद मगरको टिप्पणीको विपरीत शून्य समयमा बोल्ने महिला सांसदहरू खगेश्वरी पौडेल, तारादेवी ढकाल र कमला थापा मगरले मन्त्रिमण्डलमा महिलाको बलियो उपस्थितिलाई ऐतिहासिक उपलब्धि र महिला नेतृत्वको क्षमताको प्रमाणका रूपमा प्रस्तुत गरे।
सोही बैठकमा अन्य विविध विषयमा समेत सांसदहरूले ध्यानाकर्षण गराएका छन्:
गाँजा खेतीको माग: सांसद निरन राईले २०३३ सालभन्दा अघि नेपालमा गाँजा खेती वैधानिक रहेको स्मरण गराउँदै प्रदेशको समृद्धिका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने माग गरे।
सिँचाइमा विद्युत्: सांसद गयानन्द मण्डलले किसानहरूले बोरिङ चलाउन बिजुली नपाएकोमा आक्रोश पोख्दै किसानलाई ५ वर्षसम्म सिँचाइका लागि निःशुल्क विद्युत् उपलब्ध गराउन आग्रह गरे।
बालिका हत्याको विरोध: सांसद सुनिता गच्छदारले बाराको सिमरामा ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराध र हत्याको भर्त्सना गर्दै दोषीमाथि कडा कारबाहीको माग गरिन्।
