काठमाडौँ । बेलायती राजा चार्ल्सका कान्छा छोरा प्रिन्स ह्यारी र उनकी पत्नी मेगन मार्कल अमेरिका छाडेर पुनः बेलायत फर्कने तयारीमा रहेका छन्। बीबीसीका अनुसार ड्युक र डचेस अफ ससेक्स यो महिनाको अन्त्यसम्ममा लन्डनबाहिर रहेको एक निजी निवासमा सर्ने योजनामा छन्।
उनीहरूका दुई सन्तान-सात वर्षीय प्रिन्स आर्ची र पाँच वर्षीया प्रिन्सेस लिलिबेटलाई बेलायतकै एक विद्यालयमा भर्ना गराइसकिएको छ।
बेलायत फर्कने यो निर्णयबारे आइतबार राजा चार्ल्सलाई जानकारी गराइएको थियो। गत जुलाईमा ह्यारी र मेगनले आफ्ना बालबालिकासहित राजा चार्ल्सलाई उनको ‘हाइग्रोभ’ निवासमा भेटेका भए पनि बेलायत फर्कने निर्णयबारे राजा चार्ल्स यसअघि अनभिज्ञ थिए।
बेलायत फर्किए तापनि उनीहरूको आधिकारिक हैसियतमा भने कुनै परिवर्तन हुने छैन। उनीहरू राजपरिवारका कार्यकारी सदस्य (वर्किङ रोयल्स) का रूपमा नभई सामान्य नागरिकका रूपमा नै बस्नेछन्।
ह्यारी र मेगनको यस योजनाबारे प्रिन्स अफ वेल्स विलियम र प्रिन्सेस अफ वेल्स क्याथरिन (केड मिडलटन) लाई पनि पूर्वजानकारी दिइसकिएको छ।
