विराटनगर । विराटनगरमा प्रस्तावित पोडवे सार्वजनिक यातायात परियोजना अघि बढेको छ ।
परियोजना सञ्चालन गर्ने कम्पनीले कोशी प्रदेश लगानी प्राधिकरणमा आवश्यक बैंक ग्यारेन्टी बुझाएसँगै परियोजना कार्यान्वयनको प्रक्रिया अघि बढेको हो ।
कम्पनीले अब एक साताभित्र विराटनगरमा आफ्नो कार्यालय स्थापना गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम सुरु गर्ने जनाएको छ ।
प्रस्तावित परियोजनाको पहिलो चरणमा विराटनगरको रानीदेखि विराटनगर बसपार्कसम्म करिब ७ किलोमिटर क्षेत्रमा पोडवे सञ्चालन गर्ने योजना छ । पहिलो चरणको परियोजनाको अनुमानित लागत करिब ६ अर्ब रुपैयाँ रहेको छ ।
परियोजना कम्पनीले कुल लागतको ०.१ प्रतिशत बराबरको कार्यसम्पादन जमानत (पर्फर्मेन्स ग्यारेन्टी) कोशी प्रदेश लगानी प्राधिकरणमा बुझाएको हो ।
कम्पनीका अनुसार डीपीआर तयार गर्न करिब एक वर्ष लाग्ने अनुमान गरिएको छ । डीपीआर तयार भएपछि निर्माण कार्य सुरु गर्ने योजना छ ।
पहिलो चरणको ७ किलोमिटर रुटपछि परियोजनालाई क्रमशः विस्तार गर्दै भेडेटारसम्म पुर्याउने लक्ष्यसमेत राखिएको छ ।
पोडवे प्रणालीलाई विराटनगरमा वैकल्पिक सार्वजनिक यातायातका रूपमा विकास गर्ने प्रस्ताव गरिएको हो । परियोजना कार्यान्वयनमा आएमा विराटनगरको यातायात व्यवस्थापन तथा सार्वजनिक यातायातको स्वरूपमा परिवर्तन आउने अपेक्षा गरिएको छ।
