विराटनगर | विराटनगरमा बिहीबार जारी प्रदर्शनका क्रममा बिहीबार दिउँसो बजार क्षेत्रमा अचानक भागदौड मच्चिएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार करिब २० वर्षमुनिका अराजक युवाहरूको एक समूहले “बजार बन्द गर” भन्दै नाराबाजी गर्दै बजार क्षेत्रमा प्रवेश गरेपछि केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो।
प्रत्यक्षदर्शीहरूले उक्त समूहमा बाहिरबाट घुसपैठ गराइएको आशंका व्यक्त गरेका छन्। यद्यपि यस विषयमा आधिकारिक पुष्टि भने भएको छैन। समूह बजारमा पुगेपछि खुला रहेका अधिकांश पसलका सटर बन्द गराइएको स्थानीयले बताएका छन्।
घटनापछि विश्व हिन्दु परिषद् तथा अन्य हिन्दु संघ–संस्थाका प्रतिनिधिहरूले व्यापारीलाई पुनः बजार खोल्न आग्रह गरेका छन्। त्यसपछि केही पसलहरू पुनः सञ्चालनमा आएका छ।
सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा आइतबार राति भएको घटनाको निष्पक्ष छानबिन र मोरङ जिल्ला प्रशासन कार्यालयले लगाएको डीजे सञ्चालनसम्बन्धी प्रतिबन्ध हटाउन माग गर्दै बिहीबार विराटनगरमा प्रदर्शन भएको छ।
