विराटनगर । देशका विभिन्न सहरमा पछिल्लो समय लोकप्रिय बन्दै गएको MRR भजन अब बिराटनगरमा पनि सुरु हुने भएको छ।
विराटनगर महानगरपालिका–१९ स्थित घिनाहा घाटमा श्रावण ४ गते सोमबार साँझ ६:०० देखि ६:३० बजेसम्म सिंघिया खोलामा आयोजना हुने आरती कार्यक्रमसँगै MRR भजनको औपचारिक शुभारम्भ गरिने आयोजक समितिले जनाएको छ।
आयोजकका अनुसार कार्यक्रममा सबै इच्छुक सर्वसाधारणलाई सहभागी हुन खुला गरिएको छ। MRR भजनको मुख्य उद्देश्य धार्मिक आस्था प्रवर्द्धन, नेपाली संस्कृति संरक्षण, सामाजिक एकता तथा आपसी भाइचाराको भावना अभिवृद्धि गर्नु रहेको बताइएको छ।
देशका विभिन्न स्थानमा MRR भजनप्रति विशेषगरी युवापुस्ताको आकर्षण बढ्दै गएको उल्लेख गर्दै आयोजकले सोही उत्साहलाई बिराटनगरमा पनि विस्तार गर्न लागिएको जानकारी दिएको छ।
सामूहिक भजन–कीर्तनमार्फत स्थानीय स्तरमा धर्म, संस्कृति र सकारात्मक सामाजिक सन्देश प्रवाह गर्ने अपेक्षासहित कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाइ छ।
बिराटनगरमा सुरु हुन लागेको MRR भजनले स्थानीय समुदायमा कस्तो प्रभाव र उत्साह सिर्जना गर्नेछ भन्ने विषय अहिले चासोका साथ हेरिएको छ।
