विराटनगर । विराटनगर महानगरपालिकाले फुटपाथ व्यवस्थापनका लागि चालेको कदमले सडक छेउछाउ सब्जी तथा फलफूल बिक्री गर्दै आएका साना व्यापारीहरू मारमा परेका छन्।
महानगरपालिकाले सूचना प्रकाशन गर्दै बजार क्षेत्र तथा सटर बाहिर राखिएका सामग्री सटरभित्र मात्रै राख्न र सडक तथा सडकपेटी ओगटेर व्यापार नगर्न आग्रह गरेको थियो। उक्त निर्देशन कार्यान्वयन गर्दै सडकपेटीमा व्यापार गर्ने व्यापारीहरूलाई हटाउन थालेपछि उनीहरू आन्दोलित बनेका छन्।
विराटनगरको गुद्री क्षेत्रमा लामो समयदेखि व्यापार गर्दै आएका व्यापारीहरूले व्यवस्थापनका लागि वैकल्पिक स्थान उपलब्ध नगराएको भन्दै सोमबार महानगरपालिका अगाडि प्रदर्शन गरेका छन्। उनीहरूले जहाँसुकै भए पनि आफूहरूलाई व्यवस्थित रूपमा व्यापार गर्ने ठाउँ उपलब्ध गराइदिन माग गरेका छन्।
महानगरपालिकाले भने सडक छेउछाउ व्यापार गर्न नपाइने नीति कडाइका साथ लागू गरेको जनाएको छ। यस नीतिपछि धेरै व्यापारीहरू आफ्नो व्यवसाय गर्ने स्थान गुमाएर समस्यामा परेका छन्।
महानगरका नगर निरीक्षक राजन पौडेलका अनुसार पुरानो गुद्री क्षेत्रमा रहेको खाली जग्गामा व्यापारीहरूलाई व्यवस्थापन गर्ने योजना बनाइएको छ। तर, उपलब्ध स्थान सानो र व्यापारी संख्या धेरै भएकाले समस्या देखिएको उनले बताए। नगर प्रमुख र उपप्रमुखसँग छलफल गरी दीर्घकालीन समाधान खोजिने तयारी भइरहेको पनि उनको भनाइ छ। सम्भव भएसम्म सोही क्षेत्रमा, नभए अन्य उपयुक्त स्थानमा व्यवस्थापन गरिने उनले जानकारी दिए।
हाल उक्त क्षेत्रमा दैनिक एक सयभन्दा बढी व्यापारीहरूले सडकमै सामग्री बिक्री वितरण गर्दै आएका छन्।
महानगरपालिकाले भने दैनिक अनुगमनलाई निरन्तरता दिँदै फुटपाथ व्यवस्थापनलाई कडाइका साथ अघि बढाइरहेको जनाएको छ।
