विराटनगर । कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडादर घटाएको छ। इन्धनको बजार मूल्यमा आएको गिरावटलाई आधार मानी वैज्ञानिक भाडा समायोजन प्रणालीबमोजिम मन्त्रालयले साविकको भाडादरमा २ प्रतिशतले कमी गरेको हो।
वैज्ञानिक प्रणाली अनुसार इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले थपघट हुँदा भाडा समायोजन गर्ने व्यवस्था छ। हाल डिजेलको औषत बजार मूल्य प्रतिलिटर रु. १९२.५० कायम भएपछि यातायात व्यवस्था विभागको निर्णयलाई आधार मानेर कोशी प्रदेशले यो नयाँ भाडादर लागू गरेको हो।
मुख्य रुटहरूको परिमार्जित भाडादर
नयाँ निर्णय अनुसार कोशी प्रदेशका मुख्य रुटहरूमा बस, मिनीबस तथा माइक्रोबसको भाडादर यसप्रकार कायम गरिएको छ ।
काकडभिट्टा – विराटनगर: साविकको रु. ४२९ बाट घटेर रु. ४२१
काकडभिट्टा – धरान: साविकको रु. ४११ बाट घटेर रु. ४०३
काकडभिट्टा – इटहरी: साविकको रु. ३४३ बाट घटेर रु. ३३६
धरान – धनकुटा: साविकको रु. ३१९ बाट घटेर रु. ३१३
विराटनगर – धनकुटा: साविकको रु. ४७१ बाट घटेर रु. ४६२
विराटनगर – धरान: साविकको रु. १५२ बाट घटेर रु. १४९
इलाम – सुनमाई: साविकको रु. ३६६ बाट घटेर रु. ३५९
जीप (वर्ग “ज”) तर्फको भाडादर
कोशी र मेची राजमार्गमा चल्ने “ज” वर्गका जीपहरूको भाडादर पनि समायोजन गरिएको छ:
विर्तामोड – इलाम (८४ कि.मी.): रु. ६४१
धरान – धनकुटा (५४ कि.मी.): रु. ४१२
धरान – लेगुवा – खाँदबारी (१३५ कि.मी.): रु. १०३०
मन्त्रालयका अनुसार यातायात व्यवस्था कार्यालयबाट ‘डिलक्स’ सुविधा प्रमाणित गराएका सवारी साधनले मात्र तोकिएको भाडादरमा २० प्रतिशत थप रकम लिन पाउनेछन्।
यसैगरी विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, जनआन्दोलनका घाइते तथा ज्येष्ठ नागरिकहरूलाई दिइँदै आएको साविकको भाडा सहुलियतलाई पूर्ण रूपमा पालना गर्न निर्देशन दिइएको छ। सहुलियत प्राप्त गर्नका लागि यात्रुले अनिवार्य रूपमा आफ्नो सक्कल परिचयपत्र देखाउनुपर्नेछ।
यात्रुहरूले यात्रा सुरु गर्दा नै अनिवार्य रूपमा भाडा रकम र स्थान उल्लेख भएको यात्रु टिकट पाउनुपर्ने व्यवस्था गरिएको छ। सवारी साधन र टिकट काउन्टरमा स्पष्ट देखिने गरी भाडादरको सूची टाँस्न र लामो दुरीको रात्रिकालीन बसमा कम्तीमा दुई जना चालक राख्न व्यवसायीहरूलाई निर्देशन दिइएको छ। तोकिएको भन्दा बढी भाडा लिएमा वा नियम उल्लंघन गरेमा कानूनबमोजिम कडा कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।


