विराटनगर । नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्तिमा सुधार भएको दाबी गरिरहँदा मोरङ-सुनसरी औद्योगिक क्षेत्रका उद्योगहरू भने अघोषित लोडसेडिङ र अनियमित विद्युत आपूर्तिका कारण बन्द हुने अवस्थामा पुगेका छन्।
मोरङ उद्योग व्यापार संघले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बिनाकुनै पूर्वसूचना भइरहेको दैनिक ट्रिपिङ, न्यून भोल्टेज र अघोषित लोडसेडिङ प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघका अध्यक्ष अनुपम राठीद्वारा जारी विज्ञप्ति अनुसार विगत लामो समयदेखि मोरङ-सुनसरी औद्योगिक क्षेत्रका उद्योगहरूले खेप्दै आएको अनिर्धारित, अनियमित र अघोषित विद्युत आपूर्तिको समस्या हाल वर्षायामका दिनहरूमा समेत पुनः उत्कर्षमा पुगेको छ।
यस अनिर्धारित प्राविधिक गडबडी र लापरवाहीका कारण उद्योगीहरू चौतर्फी मारमा परेका छन् र उनीहरूमा चरम निराशा पैदा भएको छ।
पटक-पटक आउने र जाने विद्युत ट्रिपिङका कारण उद्योगहरूमा जडान गरिएका करोडौँ मूल्यका अत्याधुनिक मेसिनरी, पार्टपुर्जाहरू, इलेक्ट्रोनिक प्यानल र सफ्टवेयर प्रणालीहरू बिग्रने क्रम अत्यधिक बढेको संघले जनाएको छ। जसका कारण उद्योगीहरूमाथि मर्मतसम्भारको ठूलो र अनपेक्षित आर्थिक भार थपिएको छ।
विशेषगरी प्लास्टिक, स्टिल, सिमेन्ट, खाद्य र रासायनिक पदार्थ उत्पादन गर्ने उद्योगहरूमा प्रक्रियागत उत्पादनका क्रममा अचानक विद्युत काटिँदा मेसिनभित्रै कच्चा पदार्थहरू जमेर नष्ट हुने, डढ्ने र करोडौँको उत्पादन पूर्ण रूपमा खेर जाने गरेको विज्ञप्तिमा उल्लेख छ। यसका साथै विद्युत आपूर्ति अनियमित हुँदा उद्योगहरूमा कार्यरत हजारौँ श्रमिकहरू घण्टौँसम्म कामविहीन भएर बस्नुपर्ने बाध्यता सिर्जना भएको छ।
काम नभए पनि उद्योगहरूले भुक्तानी गर्नुपर्ने पारिश्रमिक र सञ्चालन खर्च यथावत रहने हुँदा उत्पादन लागत बढेको छ। यसले गर्दा नेपाली उत्पादनले स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने क्षमता पूर्ण रूपमा गुमाउँदै गएको संघको ठहर छ।
समयमा उत्पादन हुन नसक्दा बजारमा सामानको अभाव सृजना हुने, माग अनुसार आपूर्ति गर्न नसक्दा उद्योगहरूको साख गुम्ने र आयातित वस्तुहरूले बजार ओगट्ने जोखिम समेत बढेको छ।
देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको औद्योगिक क्षेत्रलाई यसरी बिनाकुनै पूर्वसूचना र योजना अन्धकारमा राख्नु र उद्योगीहरूको समस्यालाई बेवास्ता गरिनु अत्यन्तै विडम्बनापूर्ण भएको संघले जनाएको छ।
मोरङ उद्योग व्यापार संघले नेपाल विद्युत प्राधिकरण लगायत सम्बन्धित उच्च निकायहरू समक्ष यसै विज्ञप्ति मार्फत मोरङ-सुनसरी औद्योगिक क्षेत्रको अघोषित लोडसेडिङ र ट्रिपिङको समस्यालाई तत्काल अन्त्य गर्न जोडदार माग गरेको छ।
साथै, प्राविधिक कारणले विद्युत काट्नु पर्ने अवस्था आएमा त्यसको पूर्वसूचना संघ सहित सम्बन्धित उद्योग व्यवसाय प्रतिष्ठानहरूलाई अनिवार्य रूपमा उपलब्ध गराउन र स्वदेशी उद्योग व्यवसायको संरक्षणका लागि गम्भीरतापूर्वक सचेत एवम् सक्रिय रहन हार्दिक अपिल गरिएको छ।


