काठमाडौं । पाराग्वेमाथि कठिन जित निकाल्दै फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।
अन्तिम १६ अन्तर्गत भएको प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले पाराग्वेलाई १–० ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।
खेलको ६७औँ मिनेटमा फ्रान्सका डिजायर डुवे पेनाल्टी क्षेत्रभित्र लडाइएपछि रेफ्रीले सुरुमा खेल जारी राखेका थिए। तर, भीएआर (VAR) समीक्षा पछि पाराग्वेका खेलाडीले फाउल गरेको ठहर गर्दै फ्रान्सलाई पेनाल्टी प्रदान गरियो।
पेनाल्टी प्रहारका लागि आएका कप्तान क्लियन एम्बाप्पेले ७०औँ मिनेटमा कुनै गल्ती नगरी गोल गर्दै फ्रान्सलाई निर्णायक अग्रता दिलाए। त्यसपछि बाँकी समय पाराग्वेले बराबरी गोलको प्रयास गरे पनि फ्रान्सको रक्षापंक्तिलाई भेद्न नसक्दा खेल १–० मै सकियो।
यस गोलसँगै एम्बाप्पेको जारी विश्वकपमा गोल संख्या सात पुगेको छ। विश्वकप इतिहासमा उनले १९ खेलमा १९ गोल गरिसकेका छन्। अर्जेन्टिनाका लियोनल मेस्सीको विश्वकप गोल कीर्तिमानसँग बराबरी गर्न उनी अब एक गोलले मात्र पछाडि छन्।
अब क्वाटरफाइनलमा फ्रान्सले मोरोक्कोसँग प्रतिस्पर्धा गर्नेछ। मोरोक्कोले अन्तिम १६ मा क्यानडालाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो।


