काठमाडौँ । साविक विजेता अर्जेन्टिनालाई स्तब्ध पार्दै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्क/न्युजर्सीस्थित न्यु जर्सी स्टेडियममा आइतबार राति सम्पन्न रोमाञ्चक फाइनल भिडन्तमा अर्जेन्टिनालाई १-० गोल अन्तरले हराउँदै स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन बनेको हो।
स्पेनले यसअघि सन् २०१० मा दक्षिण अफ्रिकामा आयोजित विश्वकपको उपाधि जितेको थियो। यो ऐतिहासिक जितसँगै स्पेनले दोस्रो पटक विश्व फुटबलको सर्वोच्च उपाधि आफ्नो नाममा दर्ता गराउन सफल भएको छ।
अत्यन्तै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलको निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। दुवै टोलीले आक्रामक खेल पस्किए तापनि तोकिएको समयभित्र कुनै पनि गोल हुन सकेन। तर अतिरिक्त समयमा स्पेनका फेरान टोरेसले शानदार गोल गर्दै टोलीलाई निर्णायक अग्रता दिलाए। टोरेसको सोही गोल नै स्पेनलाई दोस्रो पटक विश्वविजेता बनाउने मुख्य आधार बन्यो।
खेलको एक महत्त्वपूर्ण मोडमा अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेजले दोहोरो पहेँलो (रातो) कार्ड बेहोर्दै मैदानबाट बाहिरिनु परेको थियो। १० खेलाडीमा सीमित भएपछि अर्जेन्टिना ठूलो दबाबमा पर्यो। स्पेनले खेलभरि बल पोजिसनमा बलियो पकड जमाउँदै अर्जेन्टिनालाई रक्षात्मक खेल्न बाध्य तुल्याएको थियो। यद्यपि, अर्जेन्टिनाले खेलको अन्तिम समयतिर गोल फर्काउने केही अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा उपाधि रक्षा गर्ने अवसरबाट वञ्चित भयो।
फाइनल खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले गोल गर्न नसकेपछि फ्रान्सका स्ट्राइकर किलियन एम्बाप्पेले लगातार दोस्रो पटक गोल्डेन बुटको उपाधि जितेका छन्। प्रतियोगिताभरि सर्वाधिक गोलकर्ता बन्दै एम्बाप्पेले व्यक्तिगत रूपमा अर्को ठूलो सफलता हात पारे।
