विराटनगर । आर्थिक अभावका कारण विधिवत् विवाह गर्न नसकेका सन्थाल र ऋषिदेव समुदायका ११ जोडीलाई सनातन हिन्दू परम्पराअनुसार सामूहिक विवाह गराइएको छ।
सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई केन्द्रमा राख्दै माहेश्वरी महिला मञ्चले सोमबार विराटनगरस्थित अतिथि सेवा सदनमा भव्य सामूहिक विवाह समारोह आयोजना गरेको हो। समारोहमा मोरङ, झापा र सुनसरी जिल्लाका ११ जोडी वैवाहिक बन्धनमा बाँधिएका हुन्।
विवाहका लागि ११ वटा छुट्टाछुट्टै मण्डप निर्माण गरिएको थियो भने ११ जना पुरोहितले वैदिक विधिअनुसार विवाह सम्पन्न गराएका थिए। दुवै पक्षबाट आएका आफन्त, जन्ती तथा शुभेच्छुकका लागि विवाह भोजको समेत व्यवस्था गरिएको थियो।
सामूहिक विवाहमा सहभागी नवदम्पतीहरूमा फूलमणी सोरेन–अनिल दर्जी, भूमिका ऋषिदेव–पारस कुमार, ललिता हास्दा–राजेश हेमरम, शान्ति मुर्मू–मनीष टुडू, सुनीता मर्डी–बुद्धिलाल मुर्मू, रोषा हेमरम–बब्लु मुर्मू, मीना मुर्मू–वरिसलाल हास्दा, मुन्नी मरण्डी–सनत चौङे, सरिता टुडू–सुकलाल मुर्मू, सनीता किस्कु टुडू–विजय बास्के तथा मनीता सदा–शेखर कुमार ऋषिदेव रहेका छन्।
माहेश्वरी महिला मञ्चका अनुसार आर्थिक विपन्नताका कारण सामाजिक तथा धार्मिक परम्पराअनुसार विवाह गर्न नसकेका जोडीलाई सम्मानपूर्वक नयाँ जीवनको सुरुवात गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
प्रत्येक नवविवाहित जोडीलाई सुनका गरगहना, दराज, ग्यास चुलो, बेड, ओछ्यान, भाँडाकुँडा तथा दाम्पत्य जीवनका लागि आवश्यक गृहउपयोगी सामग्री प्रदान गरिएको आयोजकले जनाएको छ। यसबाट नवदम्पतीलाई आत्मनिर्भर र सम्मानजनक रूपमा गृहस्थ जीवन सुरु गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
माहेश्वरी महिला मञ्चकी अध्यक्ष ललिता जाजुले सामाजिक सेवामार्फत आर्थिक रूपमा कमजोर परिवारलाई प्रत्यक्ष सहयोग पुर्याउने उद्देश्यले सामूहिक विवाह कार्यक्रमलाई निरन्तरता दिइँदै आएको बताइन्। यस्ता कार्यक्रमले आर्थिक भार कम गर्नुका साथै समाजमा सहयोग, सद्भाव र समावेशिताको सन्देश प्रवाह गर्ने उनको भनाइ थियो।
आयोजकका अनुसार सामूहिक विवाहले विपन्न परिवारको आर्थिक व्ययभार घटाउनुका साथै सामाजिक एकता, मानवीय सेवा र सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

कोशी प्रदेशका पर्यटनमन्त्री भीम पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साह, उद्योगी महेश जाजु तथा विभिन्न सामाजिक, व्यावसायिक र राजनीतिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
माहेश्वरी महिला मञ्चले विगतदेखि नै शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, राहत वितरण तथा सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
मञ्चले सामूहिक विवाहजस्ता अभियानले आर्थिक रूपमा कमजोर समुदायलाई प्रत्यक्ष राहत पुर्याउनुका साथै समाजमा सेवा, सहयोग र सहकार्यको संस्कृतिलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।


