विराटनगर । वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिने प्रलोभन देखाएर सर्वसाधारणबाट लाखौं रुपैयाँ असुलेको आरोपमा मोरङबाट एक म्यानपावर सञ्चालक पक्राउ परेका छन्।
मोरङको रतुवामाई नगरपालिका–८ का ३७ वर्षीय उद्धव पाठकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। पाठकले रतुवामाई–८ दाम्राभिट्टामा ‘के एस ए’ नामक म्यानपावर सञ्चालन गर्दै आएको प्रहरीको भनाइ छ।
पाठकसँगै सोही म्यानपावरका लेखापाल रतुवामाई–९ निवासी अन्दाजी २५ वर्षीय अभि भण्डारी पनि पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर कैलाश लिम्बू नेतृत्वको टोलीले सोमबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालका अनुसार दुवै जनाविरुद्ध ठगी मुद्दामा अनुसन्धान गर्न अदालतबाट ६ दिनको म्याद थप गरिएको छ। हाल उनीहरूलाई इलाका प्रहरी कार्यालय सिजुवाको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार पाठकले आकर्षक आम्दानीको आश्वासन दिँदै रोमानिया पठाइदिने भन्दै सर्वसाधारणबाट लाखौं रुपैयाँ संकलन गरेका थिए। रकम उठाएको तीनदेखि चार वर्ष बितिसक्दा पनि अधिकांशलाई विदेश नपठाइएको र रकमसमेत फिर्ता नगरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले लामो समयदेखि खोजी गरिरहेका पाठक रोमानियामै बस्दै आएकाले पक्राउ पर्न सकेका थिएनन्। केही समयअघि नेपाल फर्किएका उनी काठमाडौंमा बस्दै आएका थिए। घर आएको एक साताभित्रै विशेष सूचनाका आधारमा प्रहरी टोलीले उनलाई रतुवामाईस्थित निवासबाट पक्राउ गरेको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पाठकले सय जनाभन्दा बढी व्यक्तिलाई ठगी गरेको आशंका छ। एक व्यक्तिबाट एक लाखदेखि चार लाख रुपैयाँसम्म असुलिएको पाइएको छ।
उनिविरुद्ध रतुवामाई–७ का नारायणप्रसाद भट्टराई, रतुवामाई–८ का पदमबहादुर खुलाल तथा कानेपोखरी गाउँपालिका–६ की पुनम नेपाललगायतले जाहेरी दिएका छन्। मोरङका विभिन्न प्रहरी कार्यालयसँगै काठमाडौंमा समेत उनीविरुद्ध किटानी जाहेरी परेको प्रहरी स्रोतले जनाएको छ।
अनुसन्धानका क्रममा विदेश जान इच्छुक व्यक्तिबाट रकम संकलन गर्न पाठकले आफ्ना लेखापाल अभि भण्डारीको बैंक खाता प्रयोग गरेको पाइएको छ। रोमानिया पठाइदिने आश्वासनमा रकम उठाइए पनि अधिकांश पीडितलाई हालसम्म विदेश नपठाइएको प्रहरीको भनाइ छ।
पाठकबाट ठगीमा परेका व्यक्तिको वास्तविक संख्या अझै यकिन भइनसकेको प्रहरीले जनाएको छ। अनुसन्धान सम्पन्न भएपछि ठगीको परिमाण र पीडितको संख्या स्पष्ट हुने प्रहरीको विश्वास छ।
