काठमाडौं । अमेरिका र इरानबीच सम्भावित ‘ठूलो’ सम्झौताका लागि पर्दा पछाडि तीव्र कूटनीतिक वार्ता भइरहेको जनाइएको छ । दुवै देशले एक–अर्काबीच सन्देश र लिखित प्रस्ताव आदानप्रदान गरिरहेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
एनडीटीभीका अनुसार दुई देशबीच पछिल्लो समय उच्चस्तरीय संवाद बढेको छ । यस्तै अलजजिराले इरानी अधिकारीलाई उद्धृत गर्दै अमेरिका र इरान सम्झौताका नजिक पुगेको जनाएको छ । यद्यपि, अन्तिम सहमति भइसकेको छ वा छैन भन्नेबारे निष्कर्ष निकाल्न अझै समय लाग्ने बताइएको छ ।
यसैबीच, पाकिस्तानका गृहमन्त्री मोहसिन नकवी इरानको भ्रमणमा रहेका छन् र उनले होर्मुज जलमार्गको अवस्थाबारे छलफल गरिरहेका जनाइएको छ । तर सम्भावित सम्झौता कहिलेसम्म टुंगिन्छ भन्ने विषय अझै अनिश्चित छ ।
यो कूटनीतिक गतिविधि अमेरिकाको हतियार भण्डारमा कमी देखिन थालेको समयमा भइरहेको पनि रिपोर्टहरूमा उल्लेख छ । द वासिङटन पोस्टका अनुसार इजरायलको रक्षा गर्ने क्रममा अमेरिकाले आफ्नो मिसाइल प्रतिरक्षा प्रणालीको ठूलो मात्रामा प्रयोग गरेको छ ।
रिपोर्टअनुसार अमेरिकाले इजरायललाई जोगाउन २०० भन्दा बढी ‘THAAD’ इन्टरसेप्टर मिसाइल प्रयोग गरेको छ भने समुद्रमा तैनाथ युद्धपोतबाट १०० भन्दा बढी ‘स्ट्यान्डर्ड मिसाइल–३’ र ‘स्ट्यान्डर्ड मिसाइल–६’ प्रहार गरिएको थियो ।
यसका कारण पेन्टागनको कुल मिसाइल भण्डारको करिब आधा हिस्सा प्रयोग भइसकेको दाबी गरिएको छ । इजरायलले भने आफ्नै सुरक्षाका लागि तुलनात्मक रूपमा कम मिसाइल प्रयोग गरेको उल्लेख छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानप्रति कडा अडान दोहोर्याउँदै संवर्द्धित युरेनियम राख्न अनुमति नदिने बताएका छन् । उनले उक्त युरेनियम अमेरिकाले नियन्त्रणमा लिएर नष्ट गर्ने उल्लेख गरेका छन् ।
ट्रम्पले इरानसँगको विवाद चाँडै अन्त्य हुने दाबी गर्दै विवाद समाधानपछि पेट्रोल र डिजेलको मूल्यमा उल्लेखनीय गिरावट आउने अपेक्षा समेत व्यक्त गरेका छन् ।
