Premier Cables

समाचार

हर्मुज जलघाँटीमा इरानी कारबाही, चर्कियो अमेरिका–इरान तनाव

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र २५, २०८३  | साँझ ४:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं | इरानले हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमाथि कारबाही गर्दै ओमानको खाडी र अरब सागरका केही क्षेत्रलाई समेत प्रतिबन्धित क्षेत्र घोषणा गरेपछि अमेरिका–इरान तनाव थप चर्किएको छ।

इरानी रिभोलुसनरी गार्ड्सले बुधबार दुई अमेरिकी जहाज, आठ तेल ट्याङ्कर र निर्देशन पालना नगरेका १० जहाजमाथि कारबाही गरेको जनाएको छ। गार्ड्सका प्रवक्ता हुसेन मोहेबीले प्रतिबन्धित क्षेत्रमा समन्वय नगरी प्रवेश गर्ने जहाज कारबाहीको दायरामा पर्ने बताउनुभएको छ।

विज्ञापन

इरानले हर्मुज जलघाँटी प्रयोग गर्ने जहाजले अनुमति लिनुका साथै पारवहन शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ। विश्वको तेल तथा तरलीकृत प्राकृतिक ग्यासको करिब पाँचौँ भाग यही जलघाँटी हुँदै ओसारपसार हुने भएकाले यसको आवागमन प्रभावित हुँदा विश्वव्यापी ऊर्जा आपूर्तिमा असर पर्ने चिन्ता बढेको छ।

यसैबीच, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य बुधबार प्रतिब्यारेल १०१.२१ डलरमा बन्द भएको थियो।

इरानले अमेरिकी सेनाले आफ्ना पाँच तेल ट्याङ्कर नष्ट गरेको जवाफमा जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेको जनाएको छ। जोर्डनले आफ्नो क्षेत्रमा प्रहार गरिएका १८ क्षेप्यास्त्र खसालेको बताएको छ। इरानले अमेरिकी कारबाहीलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्तिका लागि खतरा भन्दै सैन्य संरचनामाथिको आक्रमणलाई आत्मरक्षा भएको दाबी गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि युद्ध अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ। तर ‘वाल स्ट्रिट जर्नल’ले अमेरिकी अधिकारीलाई उद्धृत गर्दै ट्रम्पका वरिष्ठ सल्लाहकारहरूले युद्ध उहाँको कार्यकालको बाँकी दुई वर्षसम्म पनि लम्बिन सक्ने चेतावनी दिएको जनाएको छ।

यसैबीच, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको बोर्ड अफ गभर्नर्सले इरानको आणविक विषय संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा पठाउने पक्षमा २३–३ मतले मतदान गरेको छ। रुस, चीन र नाइजरले प्रस्तावको विपक्षमा मतदान गरेका थिए। इरानले भने अमेरिकी दबाबमा प्रस्ताव पारित गरिएको भन्दै त्यसको कुनै आधार नरहेको प्रतिक्रिया दिएको छ।

फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेयता हर्मुज जलघाँटी हुँदै हुने अन्तर्राष्ट्रिय आवतजावत लगभग ठप्प रहेको बताइएको छ। जलघाँटी पूर्ण रूपमा बन्द भए विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर असर पर्न सक्ने चिन्ता बढेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka