नोट: यो समाचार १ महिना अघिको हो
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान ध्वस्त हुने अवस्थाको नजिक पुगेको दाबी गर्दै सकेसम्म छिटो स्ट्रेट अफ होर्मुज खुलाउन चाहिरहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत ट्रम्पले इरानले आफूहरू ‘ध्वस्त हुने अवस्था’ मा पुगेको जानकारी अमेरिकालाई दिएको दाबी गरेका हुन्। उनका अनुसार समुद्री आवागमन सामान्य बनाउन इरानले छिट्टै स्ट्रेट अफ होर्मुज खुलाउन चाहेको छ।
ट्रम्पले इरान आफ्नो नेतृत्व जोगाउने प्रयासमा रहेको र हालको संकटपूर्ण अवस्थाबाट बाहिरिन चाहिरहेको उल्लेख गरेका छन्।
यता इरानले भने ट्रम्पको दबाब अस्वीकार गरेको छ। इरानी रक्षा मन्त्रालयका प्रवक्ता रेजा तलाएई–निकले अमेरिका अब अन्य देशलाई के गर्नुपर्छ भनेर निर्देशन दिने अवस्थामा नरहेको प्रतिक्रिया दिएका छन्। उनले अमेरिकाले आफ्ना गलत मागहरू त्याग्नुपर्ने पनि बताएका छन्।
अमेरिका, इरान र इजरायलबीच युद्धविराम लागू भए पनि द्वन्द्व अन्त्यका लागि जारी वार्ताले अहिलेसम्म ठोस निष्कर्ष निकाल्न सकेको छैन।
स्ट्रेट अफ होर्मुज हुँदै इन्धन ढुवानी अझै सहज हुन सकेको छैन। विश्वका सबैभन्दा महत्वपूर्ण समुद्री मार्गमध्ये एक मानिने यस क्षेत्रबाट ठूलो मात्रामा तेल र ग्यास आपूर्ति हुने भएकाले यहाँको तनावले विश्व बजारमा प्रत्यक्ष असर पार्ने गर्छ।
इरानका तीन सर्त, ट्रम्पको अस्वीकार
इरानले अमेरिकासँग वार्ताका लागि तीन सर्त अघि सारेको छ। द न्यूयोर्क टाइम्सका अनुसार इरानले अमेरिकालाई नयाँ प्रस्ताव पठाउँदै स्ट्रेट अफ होर्मुजमा लगाइएको नाकाबन्दी हटाउन आग्रह गरेको हो।
इरानले राखेका मुख्य सर्तहरू यस्ता छन्–
१. अमेरिका–इजरायलबीच जारी युद्ध अन्त्य होस् र भविष्यमा आक्रमण नगर्ने ग्यारेन्टी दिइयोस्।
२. त्यसपछि अमेरिकाले समुद्री नाकाबन्दी हटाओस्, होर्मुज खुलोस् र जहाजहरूको आवागमन पुनः सुरु होस्।
३. त्यसपछि मात्रै परमाणु कार्यक्रम र युरेनियम समृद्धीकरणजस्ता विवादित विषयमा वार्ता होस्।
तर ट्रम्प प्रशासनले यो प्रस्ताव अस्वीकार गरेको छ। सीएनएनका अनुसार परमाणु कार्यक्रमको मुद्दा समाधान नगरी होर्मुज खोल्दा वार्तामा अमेरिकी पक्ष कमजोर हुन सक्ने वाशिङ्टनको बुझाइ छ। त्यसैले दुवै विषयको समाधान एकैपटक हुनुपर्ने अमेरिकी अडान रहेको बताइएको छ।
परमाणु कार्यक्रममा अड्किएको वार्ता
ट्रम्पले दुई दिनमै दोस्रोपटक इरानको प्रस्ताव अस्वीकार गरेका छन्। पछिल्ला केही हप्तादेखि पाकिस्तानमार्फत अमेरिका र इरानबीच प्रस्ताव आदान–प्रदान भइरहे पनि परमाणु कार्यक्रमसँग सम्बन्धित मुख्य विषयमा सहमति हुन सकेको छैन।
अमेरिकाले इरानले २० वर्षसम्म परमाणु कार्यक्रम स्थगित गर्नुपर्ने र आफूसँग रहेको ४४० किलो समृद्ध युरेनियम हस्तान्तरण गर्नुपर्ने माग राखेको छ। इरानले भने यी मागहरू अत्यधिक र अनुचित भन्दै अस्वीकार गरिसकेको छ।
