विराटनगर । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आइतबार बिहानको अवस्थाअनुसार कोसी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ।
त्यस्तै, लुम्बिनीसहित अन्य हिमाली तथा पहाडी भूभागमा आंशिक बादल देखिएको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ। कोसी प्रदेशका केही स्थानमा मध्यम खालको वर्षा वा हिमपात भइरहेको छ।
आज बिहान ८ बजे जारी गरिएको प्रक्षेपणअनुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेससहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।
लुम्बिनी प्रदेशको तराईका एक-दुई स्थानमा पनि यस्तै खालको मौसम देखिन सक्छ। साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आज तापक्रम बढेर तातो दिन रहने अनुमान गरिएको छ।
