Premier Cables
Premier Steel

समाचार

एकै घरमा दोहोरो विपत्ति: बुवा जीवनमरणको संघर्षमा, श्रीमती क्यान्सरसँग लड्दै

Hamro Biratnagar News Channel Calendar आइतबार, चैत्र २९, २०८२  | साँझ ६:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कहिलेकाहीँ जीवनले मान्छेलाई यस्तो मोडमा ल्याइदिन्छ । जहाँ दुःखले एकपछि अर्को ढोका ढकढक्याउँछ र आशाको उज्यालो क्षणभरमै बादलले ढाकिन्छ ।

यस्तै कठोर परिस्थितिको बीचमा अहिले विराटनगर महानगरपालिका-३ का सुरज भण्डारीको परिवार उभिएको छ ।

बिज्ञापन

जहाँ एकातिर बुवा ६३ वर्षीय चक्रमनि भण्डारीको जीवनमरणको संघर्ष चलिरहेको छ भने अर्कोतिर श्रीमती परम्परा न्यौपाने भण्डारी तेस्रो चरणको क्यान्सरसँग जुधिरहेकी छन् ।

साउन महिनाबाट सुरु भएको घटनाक्रमले सुरज भण्डारीको परिवारलाई क्रमशः पीडाको गहिराइतर्फ धकेल्यो । उनका बुवा चक्रमनिले घाँटीको नसा च्यापिएको समस्याका कारण शल्यक्रिया गराएका थिए । सुरुमा सामान्य ठानिएको उक्त शल्यक्रिया पछि अवस्था अचानक जटिल बन्दै गयो ।

संक्रमणले शरीरमा गम्भीर असर पुर्‍यायो । मस्तिष्कमा पानी जम्ने, मेनिन्जाइटिसको संक्रमण र तरल पदार्थ चुहिनेजस्ता जटिल समस्याहरू देखिन थाले ।स्थिति यति बिग्रियो कि अन्ततः मस्तिष्कघात र रक्तस्रावसम्मको अवस्था सिर्जना भयो । लामो समय चक्रमनि कोमामा रहे । जीवन जोगाउन चिकित्सकहरूले उनलाई श्वासप्रश्वास मेसिनमा राख्नुपर्‍यो । परिवारका लागि त्यो समय डर र आशंकाबीचको लामो रातजस्तै बन्यो । जहाँ प्रत्येक घण्टा नयाँ आशा र नयाँ डर लिएर आउँथ्यो ।

महिनौंको सघन उपचारपछि चक्रमनिको जीवन त जोगियो । तर, संघर्ष अझै समाप्त भएको छैन । हाल उनी अत्यन्त कमजोर अवस्थामा छन् । खाना निल्न सक्दैनन् । उभिँदा चक्कर लाग्ने समस्या छ । शरीरमा घाउहरू देखिन थालेका छन् । स्मरणशक्ति पनि कमजोर हुँदै गएको छ । चिकित्सकको सल्लाहअनुसार अब चक्रमनिलाई जीवनभर औषधि, नियमित फिजियोथेरापी र निरन्तर हेरचाह आवश्यक पर्नेछ ।

यही पीडाको बीचमा परिवारले केही क्षणको खुसी अनुभव गरेको थियो । मंसिर १९ गते घरमा छोरी जन्मिएपछि परिवारमा आशाको एउटा सानो दियो बलेको थियो । तर, त्यो खुसी धेरै समय टिकेन । सोही दिन साँझ सुरजकी श्रीमती परम्परालाई असह्य पेट दुखाइ र दिसासँग रगत आउने समस्या देखियो ।

परीक्षणपछि आएको रिपोर्टले परिवारलाई झन् ठूलो पीडामा डुबायो । परम्परालाई मलद्वारको क्यान्सर तेस्रो चरणमा पुगेको पुष्टि भयो । त्यो खबरले सुरजको संसार नै भत्किएको जस्तो बनायो । एकातिर बुवाको दीर्घ उपचार र अर्कोतिर श्रीमतीको जटिल क्यान्सर उपचार दुवै चुनौती एकैसाथ आइलागे ।

हाल सुरज आफ्नी श्रीमती परम्पराको उपचारका लागि उनलाई भारतको नयाँ दिल्ली लगिसकेका छन् । त्यहाँ चिकित्सकहरूले लामो र जटिल उपचार प्रक्रिया आवश्यक पर्ने बताएका छन् । जसअनुसार करिब १५ महिनासम्म निरन्तर उपचार र त्यसपछि पाँच वर्षसम्म नियमित निगरानी आवश्यक पर्नेछ ।तर, यस कठिन यात्राको सबैभन्दा ठूलो अवरोध आर्थिक संकट बनेको छ ।

बुवाको लामो उपचार खर्च र श्रीमतीको क्यान्सर उपचारले सुरजको आर्थिक अवस्था पूर्ण रूपमा कमजोर बनाइसकेको छ । परिवारको सम्पूर्ण जिम्मेवारी एक्लैले सम्हालिरहेका उनी अहिले कामसमेत छोड्न बाध्य भएका छन् ।

एक्लो छोरा भएकाले बुवा र श्रीमती दुवैको हेरचाहको दायित्व उनीकै काँधमा छ । घरमा एकातिर बुवाको कमजोर स्वास्थ्य अवस्था र अर्कोतिर श्रीमतीको अस्पतालको बेडको दृश्यबीच सुरजको जीवन निरन्तर संघर्षमा बदलिएको छ । मानसिक रूपमा पनि उनी अत्यन्त दबाबमा छन् । तर, परिस्थिति र बाध्यताले सुरजलाई हिम्मत गुमाउने छुट दिएको छैन ।

उपचार खर्च जुटाउन असमर्थ भएपछि सुरजले देश–विदेशमा रहेका सबै शुभेच्छुक, दयालु मन र सहयोगी हातहरूसँग हार्दिक अपिल गरेका छन् । सानो सहयोगले पनि परिवारलाई ठूलो राहत मिल्ने विश्वास उनको छ ।

सहयोग गर्न चाहनेहरूका लागि बैंक विवरण उपलब्ध गराइएको छ ।

एनआईएमबी बैंक
खाता नामः परम्परा न्यौपाने
खाता नम्बरः ०१६००८४७७२००००११

सुरजको यो पीडादायी यात्रामा सानो सहयोग, साथ र सहानुभूतिले पनि ठूलो अर्थ राख्छ । एउटा सानो हातले पनि कुनै परिवारलाई जीवनको अँध्यारोबाट बाहिर निकाल्न सक्ने भण्डारीको परिवारको बुझाइ छ । यस्तो कठिन घडीमा सुरज सबैप्रति सहयोग र सहानुभूतिको आग्रह गरिरहेका छन् ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka