काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग प्रस्तावित दुई हप्ते युद्धविराममा सहमति जनाएका छन् भन्ने जानकारी बीबीसीले दिएको छ। यो सहमति होर्मुज जलमार्गबाट व्यावसायिक जहाजहरूको आवतजावत पुनः सुरु भएपछि मात्र लागू हुने बताइएको छ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानमाथि भइरहेका आक्रमण रोकिएमा आफ्नो देश पनि लडाइँ अन्त्य गर्न तयार रहेको बताएका छन्।
यसअघि ट्रम्पले सम्झौताका लागि मंगलबार राति ८ बजेसम्मको समयसीमा दिएका थिए। उनले सम्झौता नभए गम्भीर परिणाम आउने चेतावनी दिएका थिए। तर अन्तिम समयमा भएको कूटनीतिक पहलले तत्कालका लागि ठूलो युद्धको जोखिम टारेको छ।
मध्यस्थकर्ताको भूमिका खेलिरहेको पाकिस्तानले ट्रम्पलाई समयसीमा दुई हप्ताका लागि बढाउन आग्रह गरेको थियो। साथै, पाकिस्तानले दुवै पक्षलाई आगामी शुक्रबार इस्लामाबादमा वार्ताका लागि निमन्त्रणा दिएको छ।
पाकिस्तानी पहलले दुवै पक्षलाई आफ्नो कडा अडानबाट पछि हट्न सहज वातावरण दिएको बताइएको छ। यद्यपि, यो केवल अस्थायी दुई हप्ते युद्धविराम मात्र हो। यसले दीर्घकालीन शान्ति ल्याउने वा पुनः तनाव बढ्ने भन्ने विषय इस्लामाबादमा हुने वार्ताले निर्धारण गर्नेछ।
