






विराटनगर । खोटाङको सावा खोलाको सडक पुल शनिबार उद्घाटन भएको छ । कोशी प्रदेश सरकारले बनाएको उक्त पुलको उद्घाटन प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले गरेका हुन् ।
मन्त्री राईले आफ्नो जिल्लामा बढी बजेट केन्द्रीत गरेर योजना लगेको भन्ने आरोप लाग्दै आएको छ । विपद् पूर्वाधार पुर्ननिर्माण तर्फको बजेट आफ्नो जिल्लामा खन्याएको भनेर उनको आलोचना भएको थियो । प्रदेश सभामा कोसी सरकारको नीति तथा कार्यक्रमाथिको छलफलमा समेत यसबारे प्रदेश सभा सदस्यहरुले सरकारसँग जवाफ मागेका थिए ।
पछिल्लो पटक राई आफ्नो जिल्लामा धेरै योजना खन्याउने मन्त्रीका रुपमा चिनिएका छन् । उनले विपद् पुर्ननिर्माणतर्फको बजेट रकमान्तर गरी रु. ३ करोड १७ लाख रुपैयाँ बजेटका ४३ योजना खोटाङ लगेका छन् । लगिएका योजना र बजेट पनि आफ्नाे निर्वाच क्षेत्रमा मात्र केन्द्रित गरेको भन्दै काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले मन्त्री राईलाइ गृह जिल्लामै कालो झन्डा देखाएका थिए । कार्यक्रममा सहभागी हुन रोक लगाएका थिए । पछि योजना समान रुपमा लैजाने छलफल भएपछि कार्यक्रमा सहभागी भएका थिए ।
नयाँ बनेको खोटेहाङ गाउँपालिका र जन्तेढुंगा गाउँपालिका जोड्ने उक्त पुल पूर्वाधार विकास कार्यालय उदयपुरले निर्माण गरेको हो भने प्रादेशिक सडकपुल सहयोग इकाई इटहरीले प्राविधिक सहयोग गरेको हो । निर्माण व्यवसायी सुसम आदित्य बिजय निर्माण सेवा उदयपुरले २०८० वैशाख ११ गते पुल निर्माणको लागि ८ करोड ३ लाख ७८ हजार ७१५ रुपैयाँमा ठेक्कामा लिएको थियो ।
पुल निर्माण सम्पन्न भइसक्दा अन्तिम भुक्तानी भने ८ करोड २१ लाख ७२ हजार ८९४ रुपैयाँ भएको छ । दुई वर्षको समयावधिमा निर्माण सम्पन्न गर्नुपर्ने उक्त पुल समयमै सम्पन्न भएको हो । ४१.४० मिटर लामो उक्त पुलको चौडाई ८.४० मिटर रहेको छ भने फुटपाथको चौडाई १.२० मिटर दुवैतर्फ रहेको छ ।
पुल उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भुपेन्द्र राईले अधुरा योजनाहरु जहिलेको चुनावी मुद्दा बन्नु नहुने बताए । ‘अब ठूला–ठूला नयाँ आयोजना बनाउने मुद्दा बन्नुपर्छ । जहिल्यै बन्न नसकेका विकास निर्माणका आयोजनाहरु चुनावी मुद्दा बन्नु हुँदैन,’ उनले भने । चुनावको बेलामा आएको विकासको बाढी अरुबेला आयो कि आएन भनेर जनताले सोध्नुपर्ने उनले बताए ।