विराटनगर । झापा क्षेत्र नम्बर ५ मा चुनावी समाचार संकलनका क्रममा पत्रकार अर्जुन आचार्यमाथि साङ्घातिक आक्रमण गर्ने मुख्य अभियुक्त युवराज पाठक धरौटीमा रिहा भएका छन्।
जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको इजलासले सोमबार पाठकलाई पाँच हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएका हुन्। धरौटी रकम बुझाएपछि उनलाई रिहा गरिएको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रसाद प्रसाईँले जानकारी दिए।
पत्रकार आचार्यमाथि आक्रमण गर्ने आरोपमा पाठकलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको थियो। पक्राउपछि अनुसन्धान प्रक्रिया पूरा गरी सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा अभियोगपत्र दर्ता गरिएको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालय झापामा भएको बहसपछि पाठकलाई धरौटीमा छोड्ने आदेश भएको हो।
प्रहरीले पाठकलाई झापाको शिवसताक्षी नगरपालिका–४ स्थित बुलुचोकमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो।
गत फागुन १४ गते कमल गाउँपालिका–६ जीवनचोकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा भइरहेको ‘घरदैलो’ अभियानको समाचार संकलन गरिरहेका पत्रकार आचार्यमाथि आक्रमण भएको थियो। एमाले निकट भ्रातृ संगठन ‘भोलेन्टियर्स फोर्स’का सदस्यहरूले उनलाई मुक्का र बुट प्रहार गरी घाइते बनाएका थिए।
आचार्य रातोपाटी डटकमका कोशी प्रदेश प्रमुख तथा हाम्रोमत डटकमका कार्यकारी सम्पादक हुन्।
