Premier Cables
Premier Steel

कोशी प्रदेश

बाढीपछि इलामका किसान अन्योलमा, २७ करोडभन्दा बढीको कृषि क्षति

सुनिता राई Calendar मंगलबार, फाल्गुण १२, २०८२  | अपराह्न २:२८ बजे

माई नगरपालिका, इलाम | इलामका चूडामणि दमाईको खेतमा धान पहेँलपुर भइसकेको थियो। धान भित्र्याउने तयारीमै रहेका बेला २०८२ असोज १८ गते परेको भीषण वर्षासँगै माई खोलामा आएको बाढीले चूडामणिको घरसहित १२ कठ्ठा खेत बगायो।

धान भित्र्याउने तयारीमा रहेको समयमा आएको बाढीले वर्षौँदेखिको मेहनत एकै रातमा बगाइदियो। उनी आफ्नै तथा ठेक्कामा लिएको खेतमा खेती गर्दै वार्षिक करिब ६० देखि ७० मनसम्म धान उत्पादन गर्थे। यही खेतीबाट पाँच जनाको परिवार पाल्दै, छोराछोरीको पढाइदेखि औषधोपचार र नुन–तेलसम्मको खर्च धान्दै आएका थिए।

बाढीले घर र खेत दुवै बगाएपछि अहिले चूडामणिको परिवार नजिकैको सामुदायिक वन कार्यालयको भवनमा आश्रय लिएर बसिरहेको छ।

चूडामणि भन्छन्, “अहिले विपद्का बेला विभिन्न संघ-संस्थाले दिएको राहतले मात्र खान पुगेको छ। काम गरेर खाने अवस्था छैन। छोराछोरी यहीँबाट स्कुल गइरहेका छन्। खेत फर्केर खेती गर्ने सम्भावना छैन, बाढीले खेतलाई बगर बनाइदिएको छ। खेतमै उब्जिएको अन्नले परिवार पाल्थ्यो, अब खेत नै नरहेपछि कसरी बाँच्ने? एकै रातको बाढीले घरबारविहीन बनायो।”

यसपटक इलाममा अत्यधिक वर्षा हुनुका कारणबारे कृषि तथा जलवायु विज्ञ डा. योगेन्द्रमान श्रेष्ठ भन्छन्, “समुद्रबाट प्रशस्त मात्रामा बाफ आउने र त्यो नेपालको उत्तरतर्फका हिमालमा पुगेर संघनन हुँदा वर्षा हुन्छ। यसको एउटा प्रमुख कारण विश्वव्यापी जलवायु परिवर्तन हो।”

बाफ पहाड र हिमालमा ठोक्किँदा चिसिएर संघनन भई बादल बन्ने र वर्षा हुने प्रक्रिया यहाँ बढी सक्रिय हुन्छ।

उनका अनुसार इलामको भू-बनोटका कारण हुने ओरोग्राफिक वर्षा पनि अर्को मुख्य कारण हो। बाफ पहाड र हिमालमा ठोक्किँदा चिसिएर संघनन भई बादल बन्ने र वर्षा हुने प्रक्रिया यहाँ बढी सक्रिय हुन्छ। त्यसैगरी इलाममा वनस्पति घना भएकाले रूख–झाडीबाट पानी बाफमा निस्कने ‘इभापोट्रान्सपिरेशन’ पनि बढी हुने गर्छ। यही बाफ र बाहिरबाट आएका बादल मिसिएर संघनन हुँदा इलाममा अन्य स्थानको तुलनामा बढी वर्षा हुने गरेको उनी बताउँछन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा मनसुन सामान्यतया असारको दोस्रो साता (जुन मध्यतिर) प्रवेश गर्ने गर्छ भने असोजको सुरुदेखि मध्यसम्म, अर्थात् सेप्टेम्बरको अन्त्यदेखि अक्टोबरको सुरुतिर क्रमशः बाहिरिन्छ। तर यही समयअघिपछि पर्ने अत्यधिक वर्षाले इलामजस्ता पहाडी जिल्लामा ठूलो क्षति पुर्‍याएको छ।

कृषि ज्ञान केन्द्र, इलामका अनुसार यस वर्षको अत्यधिक वर्षाका कारण जिल्लाको समग्र कृषि क्षेत्रमा २७ करोड ४९ लाख ९५ हजार रुपैयाँ बराबरको क्षति भएको छ। यसमध्ये ६७५ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीमा मात्र ८ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको छ। क्षतिको विवरणअनुसार सबैभन्दा बढी क्षति माई नगरपालिकामा भएको पाइएको छ।
इलाम जिल्लाका माई, जोगमाई, पुवामाई र देउमाई खोलासहित तिनका सहायक खोलाहरूमा निरन्तर वर्षाका कारण बहाव अत्यधिक बढ्दा खेतीयोग्य जमिन बग्ने, डुबान, पानी जम्ने, कटान र पहिरो जाने अवस्था सिर्जना भएको छ। यसले खेतबारी, सिँचाइ संरचना र कृषि उत्पादनमा ठूलो असर पारेको छ। विशेषगरी खोलातटीय क्षेत्रका जमिन प्रयोगयोग्य नरहने अवस्थामा पुगेका छन्।

चूडामणिको पीडा एउटा प्रतिनिधि कथा मात्र हो। सोही नगरपालिकाकी ३६ वर्षीया लाखमाया कुमालको परिवार पनि पुस्तौँदेखि धान खेतीमै निर्भर थियो। दुई बिघा जमिनमा लगाएको धान भित्र्याउने समय नजिकिँदै गर्दा आएको बाढीले घर, खेतबारी र चौपाया सबै बगायो।

उनका श्रीमान् जनक कुमाल यही खेतमा दिन–रात पसिना बगाउँदै दुई साना छोराको भविष्यको सपना बुन्दै आएका थिए। लाख भन्छिन्, “धान खेती नै हाम्रो जीविका थियो। अब कसरी बाँच्ने? यो परिवारलाई के ले धान्ने?”
घर, खेत र जीविकाको आधार सबै बगाएपछि फेरि उही धान खेतीमा फर्किने अवस्था नरहेकाले कुमाल परिवारजस्तै माई नगरपालिकाका सयौँ किसान अहिले अन्योलपूर्ण भविष्यसँग जुधिरहेका छन्। जलवायु परिवर्तन, अव्यवस्थित खोलातटीय बसोबास र कमजोर पूर्वतयारीका कारण दोहोरिँदै आएका यस्ता विपद्ले साना किसानको जीवन र भविष्य झन् असुरक्षित बन्दै गएको छ।

क्षतिको विवरण संकलन गरी प्रदेश सरकारलाई पठाइसकिएको छ

जिल्ला प्रशासन कार्यालय इलामका प्रमुख तथा जिल्ला विपद् व्यवस्थापन समिति संयोजक लक्ष्मण ढकालका अनुसार निरन्तर वर्षा तथा त्यसबाट उत्पन्न बाढी–पहिरोका कारण कृषि क्षेत्र, विशेषगरी धानबालीमा उल्लेखनीय क्षति पुगेको छ। कृषि ज्ञान केन्द्रबाट प्राप्त प्रारम्भिक तथ्यांक तथा स्थलगत अनुगमनका आधारमा क्षतिको विवरण संकलन गरी प्रदेश सरकारलाई पठाइसकिएको उनले जानकारी दिए।

उनका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको संयोजनमा स्थानीय तह, विषयगत कार्यालय तथा सुरक्षा निकायसँग समन्वय गर्दै राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ। क्षति भएका कृषकको अवस्था, खेतीयोग्य जमिनको स्थिति तथा उत्पादन क्षमताजस्ता पक्षलाई ध्यानमा राखी राहत वितरणलाई प्रभावकारी, न्यायोचित र पारदर्शी बनाइने उनको भनाइ छ। पुनःस्थापनाका कार्यहरू चरणबद्ध रूपमा अघि बढाइने पनि उनले बताए।

माई नगरपालिकामा माई खोलामा आएको बाढीले कटान गरेको धान खेती ।

इलाम जिल्लामा अविरल वर्षा र त्यसपछि आएको बाढी–पहिरोका कारण कृषि बालीमा ठूलो क्षति पुगेको छ। उपलब्ध विवरणअनुसार जिल्लामा करिब २७ करोड ४९ लाख ९५ हजार रुपैयाँ बराबरको कृषि बालीमा क्षति भएको छ। यस विपद्बाट करिब ३ हजार ४ सय कृषक प्रभावित भएका छन् भने ६७२ हेक्टर क्षेत्रफलमा लगाइएको बाली नष्ट भएको छ। बाढी, पहिरो र खेतबारीमा माटो तथा बालुवा थुप्रिनुका कारण करिब ३ हजार २० मेट्रिक टन कृषि उत्पादनमा क्षति पुगेको छ। साथै कृषि पूर्वाधारतर्फ करिब ३८ लाख १२ हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।

स्थानीय कृषकहरूले तत्काल राहत, क्षतिपूर्ति र पुनःखेतीका लागि सहयोगको माग गरेका छन्। समयमै सहयोग नपाए लिला बहादुर मगरजस्ता धेरै किसान परिवारको जीवन झन् कठिन बन्दै जाने उनीहरूको चिन्ता छ।
यसपटक इलाम जिल्लामा मात्र करिब १२ अर्ब रुपैयाँ बराबरको समग्र क्षति भएको जनाइएको छ। बाढी र पहिरोका कारण भौतिक पूर्वाधार, निजी घर, कृषि, पशुपालन, सिँचाइ, स्वास्थ्य र शिक्षा क्षेत्र सबैमा ठूलो असर परेको छ। मानवीय क्षतितर्फ ३९ जनाको मृत्यु भएको छ भने १ जना अझै बेपत्ता छन्।

कृषि ज्ञान केन्द्र, इलामका प्रमुख रविकिरण अधिकारीका अनुसार राहत तत्कालको सहारा मात्र हो, दीर्घकालीन समाधान होइन। धान भित्र्याउने समयमा आएको बाढी–पहिरो जलवायु परिवर्तनको स्पष्ट संकेत भएको उनको भनाइ छ। उनका अनुसार जलवायु अनुकूल खेती प्रणाली, खेत संरक्षण र दीर्घकालीन पुनःस्थापना कार्यक्रम बिना किसान टिक्न सक्दैनन्।

तर अधिकांश किसानसँग बाली बीमा नहुँदा समस्या झन् गम्भीर बनेको छ। बाढी र पहिरोले बाली नष्ट हुँदा किसानले कुनै क्षतिपूर्ति नपाउने अवस्था छ, जसका कारण ऋण लिएर खेती गरेका किसान अझ ठूलो संकटमा परेका छन्। राहत रकमले तत्कालको पीडा केही कम गरे पनि वास्तविक लागत र श्रमको क्षति पूर्ति गर्न नसक्ने अधिकारीहरू बताउँछन्।

इलाममा आएको यो विपद् केवल असामान्य वर्षाको परिणाम मात्र होइन, जलवायु परिवर्तन, अव्यवस्थित खोलातटीय बसोबास र कमजोर पूर्वतयारीको प्रतिफल पनि हो। तत्काल राहतले भोक टार्न मद्दत गरे पनि दीर्घकालीन पुनःस्थापना, बाली बीमा, जलवायु अनुकूल कृषि प्रणाली र खोलानियन्त्रणबिनाको अवस्था किसानका लागि भविष्यप्रति अझै ठूलो अनिश्चितता बनेको छ। चूडामणि, लाखमाया र लिला बहादुरजस्ता सयौँ किसानको पीडा यही यथार्थको प्रतिनिधि हो।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka