Premier Cables
Premier Steel

कोशी प्रदेश

मोरङ-४: मोदीको लगातार जित, विरासत फर्काउन कांग्रेसको कसरत

कुमार लुइँटेल Calendar सोमबार, माघ १९, २०८२  | बिहान १०:३७ बजे

विराटनगर । मोरङ क्षेत्र नम्बर–४ यसपटकको निर्वाचनमा विगतभन्दा फरक ढंगले चर्चामा छ । विगतमा यो नेपाली कांग्रेसको किल्ला मानिन्थ्यो । तर, दुई निर्वाचन कांग्रेसको पकडमा नरहँदा तत्कालीन नेकपा (माओवादी केन्द्र)ले झन्डा फहरायो । नेकपा (एमाले)ले बलियो संगठनका बाबजुद नतिजा गुमाएको गुमायै भयो ।

स्थानीय विश्लेषणानुसार, यसपटक अलि फरक ढंगको चुनावी माहोल छ । सबै दलका उमेदवार एक्लाएक्लै प्रतिस्पर्धामा छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहितको उपस्थितिले परिणाम के होला भन्ने अनेकन् अड्कलबाजी गरिँदै छ ।

बिज्ञापन

पुराना दल आफ्नो विगत दोहोर्‍याउने तयारीमा छन् । नयाँ भने बलबुताले भ्याएसम्म आफ्नो पक्षमा नतिजा ल्याउने ध्याउन्नमा छन् । यसपटक तत्कालीन माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी)का तर्फबाट निर्वतमान सांसद अमनलाल मोदी ‘ह्याट्रिक’ गर्ने दाउमा छन् । कांग्रेस भने विगतको विरासत फर्काउने तयारीमा छ ।

मोरङ–४ मा उमेदवारहरू आ–आफ्नो रणनीति बनाउँदै चुनावी अभियानमा सक्रिय भइसकेका छन् । कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान छ । रास्वपा उमेदवारलाई धेरैले मुख्य प्रतिस्पर्धी ठानेका छैनन् ।

नेता महेश आचार्यले छाडेपछि योपटक मोरङ–४ मा कांग्रेसबाट महामन्त्री गुरुराज घिमिरे उमेदवार छन् । विगतमा कांग्रेसको यो गढ ०६४ मा ‘माओवादी लहर’मा गुम्यो । ०७९ मा माओवादीसँगै गठबन्धन हुँदा कांग्रेसको भागमा यो क्षेत्र परेन । दुवैपटक माओवादीका अमनलाल मोदी विजयी भए । ग्रामीण भेगबाट राम्रो मत ल्याउनुका साथै विराटनगरका मतदाताको साथ पाएर उनी निर्वाचित भएका थिए ।

यसपटक भने मोदीको ‘गाउँ प्रभाव’ ग्रामथान गाउँपालिकाको उपनिर्वाचनपछि खस्किएको विश्लेषण गरिएको छ । ग्रामीण भेगको मत पनि बाँडिने र त्यसको फाइदा आफूहरूलाई हुने एमाले–कांग्रेसका उमेदवारको जिकिर छ ।

मोरङ–४ मा पर्ने ग्रामथान गाउँपालिका, बेलबारी नगरपालिकाको तल्लो भेग र कटहरी गाउँपालिकाका वडाहरूमा थारू तथा आदिवासी समुदायको बाहुल्य छ । रास्वपाबाट सन्तोष राजवंशी उमेदवार छन् । स्थानीय मिडियामा पत्रकारिता गर्दै आएका उनलाई रास्वपाले उमेदवार बनाएको हो ।

उनी भन्छन्, ‘‘ग्रामीण क्षेत्रको समर्थन र सहरी क्षेत्रका सचेत मतदाताको परिवर्तनको चाहनाको सम्मिश्रणबाट नै मैले जित्ने अपेक्षा छ ।’’

ग्रामीण भेगको माहोल
गएको उपनिर्वाचनमा ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेस छाडेर तत्कालीन माओवादीमा गई नमोनारायण माझी विजयी भए । त्यति बेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँका नेता अमनलाल मोदीलाई टेलिफोन गरेर ‘स्याबास मोदीजी’ भन्दै ढाडस दिएका थिए ।

प्रचण्डले ग्रामथानको विजयलाई देशभर नै माओवादीको लहर कायमै रहेको भन्दै प्रचार गरेका थिए । टेलिफोन गर्दाको भिडियो ‘भाइरल’ बनाइएको थियो । तर, गाउँपालिका अध्यक्षमा निर्वाचित भएर गएपछि नमोनारायणले जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो बढ्दो छ ।

ग्रामथानको कार्यपालिका बैठकमा ‘कोरम’ नपुगेको, सदस्यलाई जानकारी नगराएको, लोहन्द्रा खोलाको ठेक्का एकपक्षीय ढंगले गरेको विषय विवादित बन्यो । उपाध्यक्षको साटो वडाध्यक्षलाई कार्यवाहक दिएको विषयलाई त उच्च अदालतले विराटनगरले उल्ट्याइदियो ।

पटक–पटक मुद्दामामिला अदालत गएपछि ग्रामथानले समयमै बजेट ल्याउन सकेन । अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षबीचको विवाद झैझगडा र हात हालाहालकै अवस्थामा पुग्यो ।

विकासका नाममा ‘सिन्को नभाँचिएको’ टीकाटिप्पणी हुन थालेपछि त्यसको बचाउमा मोदी लागेका छन् । मोदी भन्छन्, ‘‘मेरो पहलमा धेरै काम भएका छन् । विगतमा ग्रामीण भेगको विकासमा गरेका कामको मैले बयान गर्नै पर्दैन । विराटनगर सहरी क्षेत्रमा समेत प्रशस्तै काम भएका छन् ।’’

कांग्रेसको पोजिसन के छ ?
कांग्रेस विगतमा गुमाएको विरासत फर्काउन लागिपरेको छ । विशेष महाधिवेशनबाट पार्टी महामन्त्रीमा निर्वाचित भएका गुरुराज घिमिरे मोरङ–४ मा यसपटक आफ्नो विजय सुनिश्चित भएको जिकिर गर्छन् ।

‘‘विगतमा गठबन्धन गर्दा हामीले हाम्रा सहकर्मी पार्टीका उमेदवारलाई जिताएका थियौँ । यसपटक आफैँ उठेकोले जित हाम्रो हुने भन्ने छ,’’ उनले भने ।

पार्टीमा राम्रो पकड राख्ने दिलीप गच्छदारको सहयोग वा असयोगका विषयमा यति बेला मोरङ कांग्रेसवृत्तमा निकै चर्चा छ । गुरुराज भने कांग्रेस अब एक ढिक्का भएर अघि बढेकाले समस्या नहुने जिकिर गर्छन् ।

एमाले फ्याक्टर
मोरङको यो क्षेत्रमा एमालेको उपस्थिति र पकड अरू पार्टीको तुलनामा सांगठनिक हिसाबले निकै दह्रो छ । यसपटक एमालेले जीवन घिमिरेलाई उमेदवार बनाएको छ । उनी कोसी प्रदेश सरकारको पहिलो कार्यकालमा सामाजिक विकासमन्त्री थिए । पार्टी केन्द्रीय सदस्य घिमिरे एमालेभित्र अनुभवी नेताका रूपमा परिचित छन् ।

सामाजिक विकासमन्त्री भएका बेला घिमिरेले केही उदाहरणीय कार्य समेत गरेका थिए । विराटनगरको सहिद रंगशालमा फ्लडलाइट जडान, कोरोना अस्पताल निर्माण, ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रम, सामुदायिक विद्यालयमा डिजिटल पठनपाठन, सिंघिया खोला सफाइ अभियान आदि उनले गरेका चर्चित कार्यमा पर्छन् ।

‘‘प्रदेशमा छँदा केही राम्रा काम गरिएको थियो । अब त्यसभन्दा माथि प्रतिनिधिसभामा गई क्षेत्रको लागि विशेष काम गर्ने योजनासाथ आएको छु,’’ घिमिरे भन्छन् ।

मतदाता संख्या र विगतको परिणाम
मोरङ–४ मा यसपटक एक लाख १९ हजार २५५ मतदाता छन् । ५५ हजारभन्दा धेरै आदिवासी मत छ । विराटनगर महानगरपालिकाको सहरी क्षेत्रका मतदाताको संख्या ४९ हजार ६०१ छ ।

ग्रामथान र कटहरी गाउँपालिकाका सबै वडासहित विराटनगर महानगरका १, २, ३, ८, १० र १९ र बेलबारी नगरपालिकाका ५, ६ र ७ गरी २३ वडा यो क्षेत्रमा पर्छन् । पुरुष ६१ हजार १९२ र महिला मतदाताको संख्या ५८ हजार ६२ छ । निर्वाचन आयोगले मतदानका निम्ति यो क्षेत्रमा ४० मतदानस्थल र १३१ मतदान केन्द्र तोकेको छ ।

०७९ सालको स्थानीय तह निर्वाचनमा एमाले नै बलियो देखिएको थियो । यो क्षेत्रका २३ मध्ये एमाले १८ वडामा विजयी भएको थियो । कांग्रेसले तीन र माओवादी केन्द्रले एउटा वडामा जितेको थियो ।

०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा अमनलाल मोदी ३० हजार ६१२ मतसहित निर्वाचित भएका थिए । त्यति बेला कांग्रेस, तत्कालीन माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच चुनावी गठबन्धन थियो ।

मोदीका निकटतम प्रतिस्पर्धी एमालेका विनोद ढकालले २४ हजार ४६३ मत ल्याएका थिए । यसपटक उनलाई गठबन्धनको साथ छैन । १२खरीबाट

*** समाप्त ***
Bagmati
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka