Premier Cables
Premier Steel

स्वास्थ्य

नेपालमा निपाह भाइरस परीक्षण निर्देशिका जारी, सीमा नाकामा निगरानी कडा

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, माघ १८, २०८२  | बिहान १०:५५ बजे
Hamro Biratnagar Headlines

काठमाडौँ । भारतको पश्चिम बंगाल राज्यमा निपाह भाइरसको संक्रमण पुष्टि भएपछि नेपाल सरकारले त्यसको परीक्षणसम्बन्धी निर्देशिका जारी गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको महामारी तथा रोग नियन्त्रण विभागले निपाह भाइरसको पहिचान र परीक्षणका लागि आवश्यक मापदण्ड सार्वजनिक गरेको हो।

बिज्ञापन

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार निपाह भाइरसका लक्षण सामान्य रुघाखोकीसँग मिल्दोजुल्दो हुने भएकाले सबैमा परीक्षण सम्भव नहुने भन्दै शंकास्पद बिरामी पहिचानका स्पष्ट मापदण्ड तय गरिएको छ। एक सातासम्म रुघाखोकी निको नहुने, श्वासप्रश्वासमा समस्या देखिने तथा जोखिमयुक्त क्षेत्रमा यात्रा वा सम्पर्कको इतिहास भएका व्यक्तिलाई शंकास्पद मानिने उनले बताए।

गत साता भारतको पश्चिम बंगालको उत्तर २४ परगनामा दुई जनामा निपाह भाइरस पुष्टि भएको थियो। भारतको केन्द्रीय रोग नियन्त्रण केन्द्रका अनुसार संक्रमण पुष्टि भएसँगै उच्च सतर्कता अपनाइएको छ र थप संक्रमित फेला परेका छैनन्। संक्रमित व्यक्तिको सम्पर्कमा आएका १९६ जनाको स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा भाइरस नदेखिएको जनाएको छ।

पश्चिम बंगालको सीमा कोशी प्रदेशसँग जोडिएकाले नेपालमा पनि संक्रमण फैलिने जोखिम रहेको मन्त्रालयले जनाएको छ। खुला सीमा, फलफूल खाने चमेराे तथा सुँगुरजस्ता घरपालुवा जनावरको उपस्थितिका कारण जोखिम उच्च रहेको चिकित्सकहरूको भनाइ छ। यद्यपि हालसम्म नेपालमा निपाह भाइरस भित्रिएको पुष्टि नभएको र कुनै पनि शंकास्पद बिरामी नफेला परेको मन्त्रालयले स्पष्ट पारेको छ।

जोखिम मूल्याङ्कनका आधारमा मन्त्रालयले पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यान्वयनमा ल्याएको छ। सीमा नाका र विमानस्थलमा निगरानी बढाइएको, स्वास्थ्य हेल्पडेस्क सक्रिय पारिएको तथा केन्द्रदेखि प्रदेश अस्पतालसम्म पीसीआर प्रयोगशाला, परीक्षण किट, औषधि र स्वास्थ्यकर्मीको व्यवस्था गरिएको जनाइएको छ।

निर्देशिकाअनुसार शंकास्पद बिरामी भेटिएमा कोभिड–१९ महामारीका बेला प्रयोग गरिएका क्वारेन्टाइनमा राखी परीक्षण गरिनेछ। ज्वरोसँगै सास फेर्न गाह्रो हुने, संक्रमित जनावर वा चमेरोसँग सम्पर्क, काँचो खजुरको रस सेवन तथा निपाह प्रभावित क्षेत्रमा यात्रा गरेको इतिहास भएका व्यक्तिलाई उच्च जोखिम समूहमा राखिएको छ।

निपाह भाइरस जनावरबाट मानिसमा सर्ने जुनोटिक भाइरस हो, जुन अत्यन्त घातक मानिन्छ। यसबाट संक्रमित व्यक्तिमा ज्वरो, टाउको दुख्ने, खोकी, घाँटी दुख्ने र सास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिन्छन्। गम्भीर अवस्थामा मस्तिष्क सुन्निने, मूर्च्छा पर्ने र कोमामा जाने जोखिमसमेत रहने बताइन्छ। मृत्युदर ४० देखि ७० प्रतिशतसम्म रहेको स्वास्थ्य निकायहरूको भनाइ छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka