फायल फोटो
काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचन एकै चरण हुँदैछ । अघिल्लो निर्वाचनभन्दा यस पटक उमेदवार धेरै छन् ।
समानुपातिकको ११० सिटमा ३ हजार २१३ उम्मेदवार छन्, प्रत्यक्षतर्फ १६५ सिटमा राजनीतिक दल र स्वतन्त्र गरी ३ हजार ४०६ जनाको उम्मेदवारी परेको छ ।
गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ २ हजार ४१२ उम्मेदवार मैदानमा थिए । २०७९ मा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेकामा यो पटक बढेर १ करोड ८९ लाख ३ हजार ६८९ पुगेका छन् ।
१० हजार ८९२ मतदानस्थलबाट २०७९ मा मतदान गराइएकामा यस पटक ११ हजार ९०१ मतदानस्थल तोकिएको छ । तीमध्ये अतिसंवेदनशील मतदानस्थल मात्रै ४ हजार छन् ।
गृह मन्त्रालयका अनुसार सुरक्षा चुनौतीकै कारण अतिसंवेदनशील मतदानस्थलको संख्या बढाइएको हो । निर्वाचन सुरक्षाका लागि सेनाबाट करिब ८० हजार, प्रहरीबाट करिब ७१ हजार, सशस्त्रबाट करिब ३५ हजार, राष्ट्रिय अनुसन्धान विभागबाट करिब २ हजार र ४० दिन कार्यअवधि तोकिएका निर्वाचन प्रहरी १ लाख ४९ हजार ९० जनालाई परिचालन गर्न लागिएको छ ।
२०७९ को निर्वाचनमा १ लाख १५ हजार म्यादीसहित करिब ३ लाख सुरक्षाकर्मी परिचालन गरिएको थियो । त्यतिबेला ३५ जिल्लाका ७१ मतदानस्थलमा हुलहुज्जत र तोडफोड गरिएकामा १५ स्थानको मतदान प्रभावित भएको थियो । ३२ ठाउँमा हवाई फायर गरिएको थियो ।
निर्वाचन आयोगले ४ माघदेखि नै निर्वाचन आचारसंहिता लागू गरिसकेको छ । ‘स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरण कायम गर्न’ भन्दै उम्मेदवारदेखि संघ, प्रदेश र स्थानीय सरकार, त्यस मातहतका संयन्त्रसहित २ दर्जन क्षेत्र किटान नै गरी आचारसंहिता लागू गरिएको हो ।
निर्वाचन आयोगको अनुरोधमा प्रहरीले जिल्लास्थित युनिटमा साइबर सेल गठन गरिसकेको छ । सुरक्षा निकायले निर्वाचनविरोधी गतिविधि नियन्त्रण गर्न आआफ्नो संयन्त्रलाई गोप्य रूपमा ‘मार्सल टोली’ परिचालन गरेको सुरक्षा अधिकारीहरूको भनाइ छ ।
निर्वाचन सुरक्षाकै लागि मतदानको एक महिनाअघिबाट सेनालाई फिल्डमा खटाउने तयारी छ । राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस र मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले ११ मंसिरमै आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा सेना परिचालन गर्न स्वीकृति दिइसकेका छन् ।
