विराटनगर । नेकपा एमालेले सुनसरी क्षेत्र नम्बर ४ मा उम्मेदवारीलाई लिएर देखिएको विवाद समाधान गर्दै उम्मेदवार परिवर्तन गरेको छ ।
पार्टी प्रवेश गरेको केही घण्टामै टिकट पाएका अबुल हुसेन अन्सारीको उम्मेदवारी रद्द गर्दै एमालेले पुनः जगदीश कुसियैतलाई नै उम्मेदवार बनाउने निर्णय गरेको हो ।
एमाले सुनसरी जिल्ला अध्यक्ष पर्शुराम यादवका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्सारीलाई दिइएको टिकट रद्द गरी निर्वाचन आयोगमा जानकारी पठाउन निर्देशन दिएका छन् । अध्यक्ष ओलीसँगको कुराकानी उद्धृत गर्दै यादवले भने, “अध्यक्ष कमरेडले फोन गरेर कुसियैत कमरेड नै क्षेत्र नम्बर ४ बाट उठ्ने र अन्सारीको टिकट रद्द गरिने जानकारी दिनुभएको छ ।”
अन्सारी आइतबार मात्र अध्यक्ष ओलीको हातबाट खादा ग्रहण गर्दै एमाले प्रवेश गरेका थिए । प्रवेशलगत्तै क्षेत्र नम्बर ४ को टिकट पाउँदा पार्टीभित्र तीव्र असन्तुष्टि उत्पन्न भएको थियो । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तमलोपाबाट उम्मेदवार बनेका अन्सारीले सो चुनावमा २४६ मत मात्र प्राप्त गरेका थिए । पछिल्लो समय उनी नेपाली कांग्रेसमा आबद्ध थिए ।
अन्सारीलाई टिकट दिएपछि एमालेले यसअघि क्षेत्र नम्बर ४ का उम्मेदवार रहेका जगदीश कुसियैतलाई क्षेत्र नम्बर २ मा सार्ने तयारी गरेको थियो । तर, क्षेत्र नम्बर २ मा यसअघि नै प्रदेश मन्त्री तथा दोस्रो संविधानसभा सदस्य रेवतीरमण भण्डारीको उम्मेदवारी टुंगो लागिसकेको थियो । कुसियैतलाई उक्त क्षेत्रमा पठाउने निर्णयप्रति भण्डारी पक्ष असन्तुष्ट बनेको थियो ।
एमालेको पछिल्लो निर्णयसँगै अब सुनसरी क्षेत्र नम्बर २ मा रेवतीरमण भण्डारी नै आधिकारिक उम्मेदवार रहने जिल्ला अध्यक्ष यादवले स्पष्ट पारेका छन् ।
यस निर्णयसँगै सुनसरी क्षेत्र नम्बर ४ मा पुनः २०७९ सालकै प्रतिस्पर्धीहरूबीच रोचक भिडन्त दोहोरिने भएको छ । नेकपा एमालेका जगदीश कुसियैत र नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कार्कीले कुसियैतलाई मात्र ११२ मतको झिनो अन्तरले पराजित गरेका थिए ।
