धरान । धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् ।
आइतबार नगरप्रमुख साम्पाङले उपप्रमुख अईन्द्र विक्रम बेघालाई औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन् ।
नगरप्रमुख साम्पाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उमेदवार बन्ने तयारीका कारण पदबाट राजीनामा दिएको जानकारी दिए ।
उनले स्थानीय तहको नेतृत्व सम्हाल्ने क्रममा जनताबाट प्राप्त विश्वास, साथ र सहयोगप्रति आभार व्यक्त गर्दै आगामी राजनीतिक यात्रामा समेत जनसमर्थनको अपेक्षा रहेको बताए । साथै, उनले राष्ट्रिय तहमा पुगेर प्रधानमन्त्री भई आफ्ना योजना र एजेन्डा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।
नगरप्रमुख साम्पाङ श्रम संस्कृति पार्टीबाट प्रतिनिधिसभा निर्वाचनमा उमेदवारी दिने भएका हुन् । उक्त पार्टीको चुनाव चिह्न ‘अञ्जुलीभित्रको माटो’ रहेको छ ।
नगरप्रमुख साम्पाङले तीन वर्ष आठ महिना २४ दिन कार्यभार सम्हालेका थिए ।
