विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा रोटरी भवनमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्ने विशेष कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा समाजसेवा, शिक्षा, साक्षरता तथा सञ्चार क्षेत्रमा निरन्तर योगदान पुर्याएका व्यक्तिहरूलाई सामाजिक उत्कृष्टता पुरस्कार, व्यावसायिक उत्कृष्टता पुरस्कार तथा राष्ट्र निर्माण सम्मान प्रदान गरियो।
सामाजिक उत्कृष्टता पुरस्कार अन्तर्गत
नर सेवा नारायण सेवा भावनालाई आत्मसात गर्दै कोशी अस्पतालमा दुई वर्षभन्दा बढी समयदेखि निःशुल्क भोजन सेवा प्रदान गर्दै आउनु भएका श्री पृथ्वी कुमार अग्रवाललाई सम्मान गरियो। उहाँको निःस्वार्थ सेवाले बिरामी र तिनका कुरुवाहरूलाई ठूलो राहत पुर्याएको उल्लेख गरियो।
त्यसैगरी व्यावसायिक उत्कृष्टता पुरस्कार अन्तर्गत हाम्रो विराटनगरका सम्पादक कुमार लुइँटेललाई जिम्मेवार पत्रकारिता, स्थानीय मुद्दाहरूको निरन्तर उठान र समाजप्रति उत्तरदायी सञ्चार माध्यममार्फत योगदान पुर्याएको कदरस्वरूप प्रदान गरियो।
राष्ट्र निर्माण सम्मान अन्तर्गत
२५ वर्षभन्दा बढी समयअघि प्रारम्भिक बालशिक्षामा Play Way Method को अवधारणालाई व्यवहारमा उतारी Peter Pan’s Play Pen Montessori School स्थापना गर्नु भएकी श्रीमती मधु लोहियालाई सम्मान गरियो। उहाँको दूरदर्शी सोच र शिक्षाप्रतिको समर्पणले असंख्य बालबालिकाको आधार निर्माण गरेको बताइयो।
त्यसैगरी अत्यन्तै कम उमेरमै वयस्क साक्षरता अभियानमा संलग्न भई पढ्न–लेख्न नजान्ने वयस्कहरूलाई शिक्षाको उज्यालो देखाउँदै आएकी एकता कुमारी देवलाई पनि राष्ट्र निर्माणमा योगदान पुर्याएको कदरस्वरूप सम्मान गरियो।
कार्यक्रमका अतिथि सम्माननीय बेणीगोपाल मुन्दडा रहनु भएको थियो।
कार्यक्रमको अध्यक्षता क्लब अध्यक्ष रोटेरियन गिरिजा सारडाले गर्नु भएको थियो भने सचिव रोटेरियन पूनम राठीको सक्रिय व्यवस्थापनमा कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा क्लबका सम्पूर्ण पूर्व अध्यक्षहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष गिरिजा सारडाले समाज परिवर्तनका लागि निरन्तर सेवा, सोच र कर्म आवश्यक रहेको उल्लेख गर्दै सम्मानित व्यक्तिहरू सबैका लागि प्रेरणाको स्रोत भएको बताउनु भयो।

