काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य चयनका विषयमा कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालभित्र आन्तरिक सहमति जुट्न सकेको छैन। केन्द्रीय सदस्यका रूपमा कसलाई पठाउने भन्ने विषयमा मत नमिल्दा निर्णय प्रक्रिया ढिलाइ भएको हो।
यसअघि रास्वपा सभापति रवि लामिछाने र कुलमान घिसिङबीच उपसभापतिको वरीयता दिने सहमति भएको थियो। सोही सहमतिअनुसार कुलमान नेतृत्वको उज्यालो नेपालले घण्टी चुनाव चिह्नमार्फत आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको थियो।
कुलमान निकट एक नेताका अनुसार केन्द्रीय सदस्यको टुंगो लगाउन अझै केही समय लाग्न सक्छ। “पछि विवाद नआओस् भनेर अहिले नै सबैसँग छुट्टाछुट्टै छलफल भइरहेको छ। कुलमानजीले राजीनामा पनि दिइसक्नुभएको छ। सम्भवतः आजै अन्तिम निर्णय गर्ने प्रयास भइरहेको छ,” ती नेताले बताए।
कुलमान घिसिङले बुधबार (पुस २३) राति प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरी राजीनामा बुझाएका थिए।
प्रारम्भिक चरणमा उज्यालो नेपालबाट २१ जना केन्द्रीय सदस्य रास्वपामा पठाउने तयारी भइरहेको ती नेताले जानकारी दिए। “हामी अहिले २१ जनाको कम्बो टिम लिएर जाने तयारीमा छौँ। छिट्टै रास्वपासँग संयुक्त एकता सभा र चुनावी सभा आयोजना हुनेछ,” उनले बाह्रखरीसँग भने।
