Premier Cables
Premier Steel

विराटनगर

आगजनी र तोडफोड गर्नेले उन्मुक्ति पाउँदैनन्ः डिआईजी घिमिरे

Calendar बिहिबार, मंसिर २५, २०८२  | साँझ ७:५८ बजे

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख (डिआइजी) विनोद घिमिरेले ‘जेनजी आन्दोलन’का नाममा भएका तोडफोड तथा हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कुनै अवस्था पनि उन्मुक्ति नदिने स्पष्ट बताएका छन्।

बिहीबार विराटनगरमा सञ्चारकर्मीहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा कानुन हातमा लिनेहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढ्ने बताए। शान्तिपूर्ण आन्दोलनमा सहभागी हुनु र आन्दोलनको आड लिएर प्रहरीमाथि आक्रमण वा सरकारी सम्पत्ति नष्ट गर्नु फरक विषय भएको उनको भनाइ थियो।

बिज्ञापन

“आन्दोलन वा ‘मुभमेन्ट’को मौका छोपेर सक्रिय हुने आपराधिक समूहहरू जहिले पनि प्रहरीको प्रतिरोधमा उत्रिन्छन्। त्यस्ता आपराधिक तत्वहरू कानुन बमोजिम कारबाहीको दायरामा आउनेछन्,” डिआइजी घिमिरेले भने, “यसमा प्रहरीले कुनै सम्झौता गर्दैन।” उनले अपराधलाई राजनीतिक आवरण दिएर चोख्याउन नसकिने बताउँदै दोषीहरूलाई कानुनअनुसार जिम्मेवार बनाइने उल्लेख गरे।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै उनले प्रदेश प्रहरी संगठन निष्पक्ष र भयरहित वातावरण बनाउन कटिबद्ध रहेको दोहोर्‍याए। निर्वाचन सुरक्षामा खटिने प्रहरीले कुनै नेता वा पहुँचवालाको प्रभावमा नपरी संविधान र कानुनअनुसार मात्र काम गर्ने उनले स्पष्ट पारे।

“फिल्डमा खटिने प्रहरीले देशको विधि, कानुन र संविधानलाई मात्र चिन्छ। को कति ठूलो मान्छे हो भन्ने कुराले प्रहरीको कामलाई प्रभाव पार्दैन,” उनले भने। आफूले मातहतका प्रहरीलाई कुनै दलीय दबाबमा नपरी व्यावसायिक धर्म निर्वाह गर्न निर्देशन दिइसकेको जानकारी समेत दिए।

सीमावर्ती क्षेत्रमा हुने चोरी–तस्करी नियन्त्रणमा प्रहरी सक्रिय रहेको बताउँदै उनले बरामद सामान राजस्व कार्यालयमा बुझाउने प्रक्रियामा सुधार आवश्यक रहेको उल्लेख गरे। “हामीले ट्रक समातेर राजस्वमा बुझाउँछौं, तर भित्र के कति छ भनेर खोल्दा प्रहरी प्रतिनिधि अनिवार्य रूपमा हुनुपर्छ भन्ने मेरो धारणा हो,” उनले भने।

प्रहरीलाई समयमै सही सूचना उपलब्ध गराउन सञ्चारकर्मीहरूको सहकार्य आवश्यक पर्ने बताउँदै उनले समन्वयको अपेक्षा व्यक्त गरे। गृह मन्त्रालयको मंसिर ८ को निर्णयअनुसार कोशी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएका घिमिरेले मंसिर ११ गतेदेखि कार्यभार सम्हालेका हुन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka