काठमाडौं। साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ।
लुम्बिनीको जितसँगै प्लेअफमा पुग्ने चार टोली—सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्स-को सूची अन्तिम भएको छ। यससँगै जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र चितवन राइनोजको यात्रा लिग चरणमै समाप्त भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा १३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.१ ओभरमा ६ विकेट गुमाउँदै जीत सुनिश्चित गर्यो।
लुम्बिनीका रोहितकुमार पौडेलले सर्वाधिक ३४ रन बनाए। उनले ३२ बलमा दुई चौका र एक छक्का प्रहार गरे। डी’एर्सी शर्टले २४ बलमा ३० रन जोडे, जसमा एक चौका र दुई छक्का सामेल थिए। यी दुईले प्रारम्भिक दबाब (०–१) हटाउँदै ६१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। जेजे स्मिथले २१ र निरोसान डिकवेलाले १७ रन जोडे। सुमित महर्जन र सन्दीप जोराले गोल्डेन डक ब्यहोरे भने दलीप नाथ १५ रनमा अविजित रहे।
जनकपुरका संगिथ कुरे र मयन यादवले दुई–दुई विकेट लिए भने सञ्जय कृष्ण्मुर्थीले एक विकेट हात पारे। यो खेलमा जनकपुरले सात स्पिनर प्रयोग गरेको थियो।
यसअघि, टस जितेर ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १३२ रन मात्रै जुटाएको थियो। टोलीका संगिथ कुरेले ४५ रनको सर्वाधिक योगदान दिए। उनले ३८ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै मयन यादवसँग सातौँ विकेटका लागि ४९ रनको साझेदारी गरे।
मयनले २७ रन थपे। आसिफ सेख २० रनमा आउट भए भने सञ्जय कृष्ण्मुर्थीले १४ रन बनाए। माज सदाकत ६ र अनिल साह ७ रनमै पभेलियन फर्किए। कप्तान जान निकोल लोफ्टी इटोन गोल्डेन डकमा आउट भए।
लुम्बिनीका शेर मल्ल र कप्तान रोहितकुमार पौडेलले दुई–दुई विकेट लिए। जेजे स्मिथ र रुबेन ट्रम्पलमेनले समान एक–एक विकेट जोडे।
